अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

स्वास्थ्यकर्मीलाई भड्काउन खोजेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको आक्रोश

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३८ मा प्रकाशित

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई भड्काउने कोशिस भइरहेको आरोप लगाउदै आक्रोश ब्यक्त गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् ११ बुँदे वक्तव्य जारी गर्दै मन्त्री भट्टराईले कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारका सबै संयन्त्र परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको तीखो टिप्पणी गर्नुभएको हो ।

‘स्वार्थी राजनीतिका घिनौना सुँड यत्रतत्र घुसार्ने कोसिस भइरहेको’ भन्दै उहाँले त्यस्तालाई कामबाटै जवाफ दिइने र जनस्तरबाट भण्डाफोर हुने बताएका छन् । हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन, सामना गरेर अघि बढ्दा सफल भइन्छ भन्ने सिकाएको भन्दै उहाँले यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस गरेको देखिएको उल्लेख गरेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारीले जोखिम मोलेर काम गरिरहेको र थप हौसलाका लागि सरकारले विभिन्न प्याकेज घोषणा गरेको दावी पनि भट्टराईको छ । उहाँले धमिलो पानीमा जाल थाप्नेहरुले भड्काउने कोसिस गरेको भन्दै होशियार बन्न र आफ्नो जिम्मेवारी नछाड्न आग्रह गर्नुभएको छ ।

यद्यपि, स्वास्थ्यकर्मीलाई कसले भड्काउन खोजेको भन्नेचाहिँ भट्टराईले खुलाउनु भएको छैन । मुलुकको स्वास्थ्य अवस्था लथालिंग भएको र कोरोना भाइरसको नयाँ चुनौति सामना गर्न व्यवस्थापन गर्न वर्तमान स्वास्थ्यमन्त्रीबाट सम्भव नदेखिएको भन्दै भइरहेका टिप्पणीपछि भट्टराईले बचाउमा आफ्ना धारणा राख्नुभएको हो ।

मन्त्री भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गर्दै भन्नुभएको छ , ‘उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापूर्वक काम गरिरहेको र छिट्टै सहजता आउने छ ।’

मन्त्री भट्टराईको वक्तव्यः  

कोरोना का बारेमा

१. यो विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित थियो र नेपालका लागि पनि ।

२. स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ ।

३. एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो ।

४. सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ ।

५. परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिदैन । त्यसलाई आत्मासत गर्दै सच्याउदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ ।

६. हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यहि बाटोमा छौ ।

७. यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाटै जवाफ दीइने छ । जनस्तरबाटै त्यसको भण्डाफोर हुनेनै छ ।

८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको छ । वहाँहरु सबैको प्रशंसा गर्दछु । वहाँहरुको थप हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको छ । धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गर्दैछन् । सबै होसियार हुनु पर्दछ । आफ्नो जिम्मेवारी छोड्नु हुँदैन ।

९. उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीज्युको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था छ । अब यसमा छिट्टै सहजता आउने छ ।

१०. कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।

११. आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू