अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

नेपाल ट्रस्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी भ्रम बारे स्पष्ट गर्न यो विज्ञप्ति जारी

बिआरटीनेपाल २०७६ फागुन १४ गते ११:५२ मा प्रकाशित

फागुन १४, २०७६

प्रेस वक्तव्य

नेपाल ट्रस्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले सृजना गरेको केही भ्रम बारे स्पष्ट गर्न यो विज्ञप्ति जारी गरेको छु ।

१. म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।

२. प्रथमतः ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रूपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रूपमा मलाई गाँस्नु राजनैतिक र कानुनी दृष्टिले समेत गलत छ ।

३. यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रस्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रूपमा लिएको छु ।

अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसन तन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन म सबैमा हार्दिक अपिल गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति
नेपाली काङ्ग्रेस

प्रतिक्रिया