अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

केसी डान्स सेन्टरको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७९ असोज २३ गते २०:५२ मा प्रकाशित

आदरणीय नेपाली समुदाय,
बडा दसैँ, तिहार, नेपाल संवत्, छठ तथा ल्होच्छार चाडपर्वहरूका उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

सन् २०१७ देखि केसी डान्स सेन्टरले प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली सांस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो शृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको मनाससमा समुदायकै साथ र सहयोगमा सम्पन्न भएको छ । यसै गरी कार्यक्रमलाई सफलता सहित सम्पन्न गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक तथा विज्ञापन दाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यसमेत अक्टोबर १, २०२२ मा सम्पन्न भएको छ ।

अमेरिकामा नृत्य मार्फत नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै फैलाउने अनि यहाँ हुर्कँदै गरेका पुस्तामा हस्तान्तरण गर्ने मूल उद्देश्यका साथ केसी डान्स सेन्टरको स्थापना भएको हो । वर्षमा एक दिन चाडबाडको अवसर पारेर तिनै हुर्कँदै गरेका पुस्तालाई हौसला प्रदान गर्न अनि समुदायलाई विशुद्ध नेपाली सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले हरेक वर्ष ‘कलिवुड नाइट’ सञ्चालन गर्दै आइरहेका छौँ ।

विगतका वर्षहरूमा झैँ यस वर्षको कार्यक्रमलाई समेत हरतरहले सक्दो सहयोग गरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण समुदायलाई हामी हार्दिक आभार व्यक्त गर्दछौँ ।

साना बालबालिहरू देखि प्रौढसम्म, अमेरिकाका विभिन्न सहरदेखि नेपालसम्मका कलाकारहरूको प्रस्तुति रहेको थियो यस वर्षको कार्यक्रममा । आफ्नो अति व्यस्त समय निकालेर करिब ४/५ महिना देखि अभ्यास कार्यमा उपस्थित भई आफ्नो क्षमता, सीप र कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकारहरूलाई के.सी. डान्स सेन्टर हार्दिक आभार व्यक्त गर्दछ ।

त्यसै गरी केसी डान्स सेन्टरको मुख्य सम्पत्ति भनेको नै प्रशिक्षार्थीहरूका अभिभावक र समुदायका सदस्यहरू हुनुहुन्छ । अभिभावकहरूले आफ्ना साना छोराछोरीहरूलाई उपस्थित गराई, कार्यक्रमलाई आफ्नै कार्यक्रम ठानी पुर्‍याउनु भएको सहयोगका लागि केसी डान्स सेन्टर सदासदा ऋणी रहने छ ।

त्यस्तै विशेष गरी डिसी मेट्रो क्षेत्रका सम्पूर्ण नेपाली सङ्घसंस्था तथा समुदायको साथ र सहयोग बिना यो कार्यक्रम सम्भव थिएन । हरेक वर्ष कार्यक्रममा उपस्थित भएर, कलिवुड नाइटको कार्यक्रम हुने दिनमा अन्य कार्यक्रमहरू नराखिदिएर, र कार्यक्रम पश्चात् अर्को कार्यक्रमका लागि रचनात्मक सुझाव उपलब्ध गराएर पुर्‍याउनु भएको सहयोग प्रति हामी हार्दिक आभार सहित हृदय देखि धन्यवाद अर्पण गर्दछौँ ।

कार्यक्रमलाई गुणस्तरीय बनाउन आर्थिक पक्ष मजबुत हुनै पर्दछ । यसका लागि स्पोन्सरहरुको योगदान विशेष सम्मानजनक रहेको छ । सम्पूर्ण विज्ञापन दाता तथा स्पोन्सरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

सबै स्वयंसेवकहरू जो विगत ४/५ महिना देखि हरक्षण कलिवुड नाइटको हरेक प्रकारका व्यवस्थापन तथा प्राविधिक कामहरूमा खटेर कार्यक्रम सफल बनाइदिनु भएकोमा हामी अत्यन्तै आभारी छौँ । तपाईँहरूको खटाई, साथ, सहयोग, सुझाव यसरी पाउन नसकेको भए यो कार्यक्रम यो स्तरमा सफल हुन सक्ने थिएन । साथै टिकट विक्री गर्ने कार्यमा सहयोग गर्नुहुने समुदायका सबै सदस्यहरूलाई समेत धन्यवाद ज्ञापन गर्दछौँ ।

त्यसैगरि साउन्ड सिस्टम, लाइट, फोटो, भिडियो लगायत प्राविधिक क्षेत्रमा सहयोग गर्नुहुने सबै व्यक्तिहरूमा हामी धन्यवाद ज्ञापन गर्दछौँ । कार्यक्रमलाई व्यवस्थित र आकर्षकरुपमा अगाडि बढाउन यसका सञ्चालकहरूको अझ विशेष योगदान रहन्छ । अतः यस कार्यक्रमका सञ्चालकहरू प्रति हामी आभारी छौँ । धन्यवाद ।

विशेष धन्यवाद र आभार व्यक्त गर्दछौँ – कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई । तपाई दर्शक महानुभावहरू हाम्रा लागि विशेष सम्माननीय हुनुहुन्छ । तपाईँहरूको यो उपस्थिति नै हाम्रो ऊर्जा हो, सम्पत्ति हो, र हाम्रो मिहिनेतको सामाजिक अनुमोदन हो । तपाई सम्पूर्ण दर्शक महानुभावहरूमा हामी शिर निहुराएर धन्यवाद अर्पण गर्दछौँ । आउँदा दिनहरूमा पनि हामी यसरी तपाईँहरू प्रति आभार व्यक्त गर्न पाइरहौँ ।

यस्तै हाम्रा गतिविधि, सूचना, जानकारी तथा समाचारलाई समुदायसम्म पु¥याएर हरक्षण केसी डान्स सेन्टर र कलिवुड नाइटलाई जोड्ने सेतुको काम गर्नुहुने सम्पूर्ण पत्रकार तथा मिडिया हाउसलाई पनि हामी विशेष आभार व्यक्त गर्दछौँ । विशेष धन्यवाद ।

कुनै पनि प्रकारको औपचारिकता (भाषण, आसन, सम्मान) रहितको कार्यक्रम गर्ने, तोकिएको समयमा कार्यक्रम सुरु गरेर तोकिएकै समयमा समापन गर्ने कार्यलाई ‘कलिवुड नाइट’ ले यस वर्ष पनि निरन्तरता दिएको थियो । अमेरिकाकालागि नेपाली राजदूत श्री श्रीधर खत्रीज्यूको प्रमुख आतिथ्य तथा अवैतनिक महावाणिज्यदूत श्री प्रेमराजा महतज्यूको विशेष आतिथ्यमा अक्टोबर १, २०२२ का दिन कार्यक्रमलाई सहयोग गर्नुहुने कलाकार, स्वयंसेवक, स्पन्सर, प्राविधिक, मिडिया लगायतलाई धन्यवाद ज्ञापन र प्रमाणपत्र वितरणको कार्य सम्पन्न गरिएको छ । सम्पूर्ण अतिथिहरू तथा उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद ।

हरेक वर्ष सञ्चालन गरिने कलिवुड नाइटबाट खर्च कटाई बाँकी हुन आएको बचत रकमलाई सामाजिक सेवाका क्षेत्रमा केसी डान्स सेन्टरले सहयोग गर्दै आइरहेको यहाँहरूमा विदितै छ । यस वर्ष डिसी महानगर क्षेत्रमा रहेका दुई वटा संस्थाहरू – नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, मेरिलैण्ड (एनइसीसी) र नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) लाई जनही चार सय डलर सहयोग गरेको जानकारी गराउँदछौँ । समुदायको सहयोगमा सम्पन्न कार्यक्रम मार्फत उठेको रकमबाट सकेसम्म बचाई समुदायको हितका लागि नै सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।

हामी हरेक वर्ष कार्यक्रममा नयाँ पन थप्दै दर्शकहरूलाई पूर्ण मनोरञ्जन दिने कुरामा विशेष ध्यान दिने गर्दछौँ । यसो गरिरहँदा सहयोगीहरू तथा दर्शकहरूको चाहना अनुसार कतिपय कुराहरू हामीले गर्न नसकेका वा त्यस्ता विषयमा ध्यान नपुगेको पनि हुनसक्छ । अतः कार्यक्रमको तयारी देखि समापनसम्म आइपुग्दा आयोजक, स्वयंसेवक तथा कलाकारहरूको तर्फबाट यदि कुनै गल्ती कमजोरी हुन गएका रहेछन् भने हामी माफी चाहन्छौँ ।

यसै गरी तोकिएको समयमा नै हल भित्र आइपुग्नु भएका दर्शकहरूको सम्मान गर्दै तोकिएको समयमा कार्यक्रम सञ्चालन गरिएको हुँदा विविध कारणले ढिला आइपुग्नु भएका दर्शकहरूले सुरुका केही प्रस्तुतीहरू हेर्न पाउनु भएन । यसमा हामी धेरै दुखी छौँ ।

हाम्रा गल्ती, कमजोरी र सुधारका पक्षहरूलाई जानकारी गराई आगामी कार्यक्रमलाई अझ स्तरीय बनाउन सहयोग पुर्‍याइदिनुहुनेछ भन्ने आशाका साथ केही दिनभित्र नै हजुरहरू समक्ष कार्यक्रमको पृष्ठपोषण(फिडब्याक)का लागि हामी हजुरहरू समक्ष आउने छौँ । आशा छ यहाँहरूका सुझाव, सल्लाहले आगामी वर्ष अझ उत्कृष्ट कार्यक्रम ल्याउन सहयोग मिल्नेछ ।

अन्त्यमा, कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्था, कलाकार, दर्शक, मिडिया, प्राविधिक, स्वयंसेवक, अभिभावक लगायत सम्पूर्णलाई पुनः एक पटक ‘केसी डान्स सेन्टर’ तथा ‘कलिवुड नाइट २०२२’ परिवार हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ । आउँदा दिनहरूमा समेत यहाँहरु सबैबाट यस्तै साथ र सहयोग प्राप्त भइरहने आशा राखेका छौँ । किनकी: तपाईँहरूको उपस्थिति, हाम्रो हौसला ।

धन्यवाद ।
नवीन केसी/लुना श्रेष्ठ
संस्थापक/सञ्चालक/नृत्य निर्देशक

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू