अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

विधायक ह्यारी भण्डारी प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७८ माघ २८ गते २२:२० मा प्रकाशित

मैले अमेरिकामा एक नेपालीका नाममा औपचारिक रूपमा विधेयक दर्ता गरेको छु। नेपाली विद्यार्थी सागर घिमिरेको नाममा दर्ता भएको विधेयकको अफिसियल शीर्षक ‘वर्कग्रुप टु स्टडी एक्सट्रिम रिस्क प्रोटेक्टिव अर्डर्स (सागर घिमिरे एक्ट)’ अर्थात् अति जोखिम सुरक्षा आदेश अध्ययनका लागि कार्य समूह (सागर घिमिरे ऐन) हो।

यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो मेरिल्यान्ड राज्य विधान सभाको ४४४औँ संसद् सत्रमा एचबी १३४४ नम्बरमा दर्ता भएको हो। यो मेरो पहिलो कार्यकालको अन्तिम विधायीकी सत्र हो र यो सत्रको विधेयक दर्ता गर्ने अन्तिम दिन मैले यो विधेयक दर्ता गरेको हुँ।

यो विधेयक दर्ता गरिरहेको बेला मेरो मनमा अनेक भावहरू तरेली खेलिरहेका थिए। पहिलो त मैले जसका नाममा यो विधेयक दर्ता गरिरहेको थिएँ, सागर घिमिरे यो संसारमा हुनुहुन्न, उहाँ नहुनुको पीडाले मेरो मन भत्भती पोलिरहेको थियो। २४ वर्षीय एक मेधावी नेपाली विद्यार्थी घिमिरे मे ८ मा मेरिल्यान्डकै वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोलीको निशाना हुनु भयो। मैले मनमनै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे। त्यो श्रद्धा र समवेदना केही समययता अमेरिकामा घटिरहेका विभिन्न खाले घटनामा अनाहकमा ज्यान गुमाउने थुप्रै नेपाली र उहाँहरूका प्रियजनका लागि पनि थियो।

यो अप्रिय घटना घटाउने ५६ वर्षीय एभर्टन ब्राउनले सुरक्षा कारबाहीमा मारिनुअघि घिमिरेसँगै अन्य तीन जनाको पनि ज्यान लिएका थिए भने अर्का एक नेपाली श्याम अधिकारीलाई घाइते बनाएका थिए। गोली चलाउनुअघि शनिवार बिहानै सबै छिमेकी सुतिरहेको बेला उनले घरमा आगो सल्काएर चार घर खरानी पनि बनाए। यस्तो अमानवीय कार्य कुनै पनि सामान्य मानिसले गर्न सक्दैन, एभर्टन मानसिक रूपमा एक असामान्य मानिस थिए भन्ने प्रमाण यही हो। उनको असामान्य व्यवहारबाट हुने सम्भावित खतराबाट जोगिन छिमेकीहरूले सरकारी निकायमा गरेको हारगुहारको अभिलेखले पनि त्यही पुष्टि गर्छ।

विडम्बनाको कुरा, यस्ता असामान्य मानिससँग कानुनी रूपमा लाइसेन्सप्राप्त बन्दुक थियो र त्यही बन्दुकले उनले यो नृशंस घटना घटाएका थिए। जबकि मेरिल्यान्ड राज्यमा विद्यमान रेडफ्ल्याग कानुनले नै यस्तो असामान्य अवस्थाको मानिसको बन्दुक सरकारले लिन सक्ने अधिकार प्रदान गरेको छ। यो हुँदाहुँदै पनि बन्दुक ऊसँगै रह्यो र सागर घिमिरे र अन्य तीन जना निर्दोष मानिसको अनाहकमा ज्यान गयो।

अमेरिकामा यो यस्तो पहिलो घटना हैन। केही समययता यस्ता घटना दिनहुँ जसो घटिरहेकै छन् र बर्सेनि हजारौँ ‘सागर घिमिरे’हरूको प्राणपखेरू उडिरहेको छ। यो क्रम बन्द हुनुपर्छ। त्यसका लागि मूलतः कानुनी आधार नै मजबुत हुनुपर्छ। त्यसका लागि के कस्ता विधायिका प्रबन्धहरू गर्नुपर्छ? त्यसैको अध्ययन अनुसन्धान गरी आवश्यकताअनुसार कानुन परिमार्जन गर्न यो विधेयक ल्याइएको हो ।

यो विधेयकले मरिल्याण्ड राज्यका स्वास्थ्य मन्त्रीको अध्यक्षतामा एउटा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरू रहेको सर्वपक्षीय उच्चस्तरीय कार्य समूह गठन गर्छ। त्यसले यो घटनालाई केन्द्रमा राखेर विद्यमान कानुनहरूको विस्तृत रूपमा अध्ययन गर्छ र अब के कस्ता कानुनी प्रावधानहरूको व्यवस्था गर्नुपर्छ भनेर मेरिल्यान्डका गभर्नर र सांसदलाई प्रतिवेदन बुझाउँछ। त्यसैको आधारमा विधायीकी कार्यहरू अगाडि बढ्छन् र यो विधेयक एउटा तार्किक निष्कर्षमा पुगेर कानुन बन्छ।

सागर घिमिरे अमेरिकामा विद्यार्थी भिसा स्टाटसमा रहेका एक नेपाली विद्यार्थी हुनुहुन्थ्यो। पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको खाँदवारि नगरपालिका वडा नं. ६ तल्लोपाठाका घिमिरे मेरिल्यान्डको उडल्यान पार्कभ्यू क्रसिङस्थित साथीको घरमा बस्न थालेको एक साता मात्र भएको थियो। उहाँ साउथ क्यारालाइनास्थित क्लाफिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा अन्डरग्राजुएसन गरेर ग्राजुयसन अध्ययनका लागि मेरिल्यान्ड आउनु भएको थियो। डेटा साइन्टिस्ट बन्ने सपना साँच्नुभएको घिमिरे यो घटनामा मारिनुपर्ने कारण कहीँ कतै भेटिँदैन, बन्दुकधारीलाई त उहाँले त्यसअघि देख्नु भएको पनि थिएन होला। तर, पनि उहाँ मारिनु भयो र एउटा सपनाको अनाहकमा अन्त भयो।

म विधायक भएको राज्यमा आफ्नै मूलको एक निर्दोष युवा अनाहकमा मारिएको घटनाको सम्झनाले मात्र पनि मलाई ऐठन हुन्छ। यो हृदय विदारक घटनापछिका दृश्यहरूको एक साक्षी हुनुको अर्थ मलाई ती दृश्यहरूको पूर्वस्मृतिले सधैँ असहज बनाउँछ। यस्तो अवस्थामा मैले के गर्न सक्छु भनेर आफैंलाई प्रश्न गरेँ। मेरो अन्तर आत्माले यसरी प्राणपखेरू गुमाउनुपर्ने सागर घिमिरे पहिलो नभए पनि अन्तिम व्यक्ति बन्नुपर्छ भन्ने मलाई लाग्यो। र, एक नेपाली मूलको विधायकले दिने सबैभन्दा ठुलो श्रद्धाञ्जलीका रूपमा उहाँकै नाममा यो विधेयक प्रस्तुत गरेको छु।

अमेरिकाको नेपाली समुदाय कार्यरत रहने कार्यक्षेत्रहरूमा विभिन्न परिस्थितिमा अकालमा ज्यान गुमाउनुपर्ने घटनाको लामो फेहरिस्त छ। तर, ती घटनामा परेकाले उचित न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्। केही समययता नेपाली समुदायले मलाई गाहरोसाह्रोका सारथिका रूपम सम्झेको छ र यस क्रममा मेरो कार्यालय आधा दर्जन घटनाको क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ। म चाहन्छु, यस्ता घटनाको शृङ्खला सधैका लागि र सबैका लागि अन्त हुनुपर्छ। अकालमा ज्यान गुमाउनु हुने ती सबै नेपालीहरूको सम्मानमा एक प्रतिनिधिमूलक विधेयक रूपमा यसलाई प्रस्तुत गरेको छु र त्यही रूपमा लिइदिन सबैमा सादर अनुरोध पनि गर्दछु।

अमेरिकामा एक जना नेपालीको नाममा ऐनकै नाममा विधेयक प्रस्तुत हुनु यो एक ऐतिहासिक घटना हो तर यो जुन रूपमा जसरी आयो, त्यो कसैका लागि प्रिय हैन। मेरा लागि त यो कष्टप्रद क्षण नै हो। यद्यपि, शोकलाई शक्तिमा बदलेर उहाँलाई न्याय दिलाउन यो अभियान कामयाब हुनेछ भन्ने विश्वासका साथ मैले यसलाई दर्ता गरेको हुँ।

जो मरेर जानुभयो उहाँहरूले त अब केही गर्न सक्ने कुरा भएन, हामी बाँचेकाहरूको कर्तव्य उहाँ र उहाँहरूको परिवारलाई न्याय दिलाउने र क्षतिपूर्तिका लागि ऐक्यबद्ध रूपमा प्रक्रिया अगाडि बढाउने हो। त्यही नै उहाँहरूप्रतिको साँचो श्रद्धाञ्जली र समवेदना पनि हो। यी दुर्घटनाहरूलाई नेपाली समुदायले कहिल्यै बिर्सन सक्दैन र बिर्सनु हुँदैन पनि। हामी त्यो लक्ष्यमा पुर्‍याउने न्यायको बाटोमा कहिल्यै थाक्नु हुँदैन।

मलाई थाहा छ, सागर घिमिरे विधेयक न्यायको खोजीको कठिन यात्राको पहिलो पदचाप हो। यो यात्रामा म समस्त आदरणीय नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सद्भावपूर्ण सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु। त्यसमा पनि हाम्रो समुदायबाट कानुनी क्षेत्रमा प्रतिनिधित्व गर्नुहुने कानुन व्यवसायीहरू, सागर घिमिरेजस्तै विद्यार्थी भिसा स्टाटसमा रहनुभएका नेपाली विद्यार्थीहरू, कुनै समय विद्यार्थी भिसा स्टाटसमा रहेर अहिले समुदायका विभिन्न क्षेत्रमा योगदान दिइरहनुभएका व्यक्तित्वहरू, पत्रकार तथा सञ्चारकर्मी मित्रहरू र विभिन्न सङ्घ-संस्थामा आबद्ध महानुभावहरूमा सहकार्यका लागि विशेष अनुरोध गर्दछु। सागर घिमिरे नेपाली विद्यार्थी भएकाले उहाँलाई न्याय दिलाउन अमेरिकास्थित नेपाली राजदूताबासमार्फत् नेपाल सरकारको पनि सद्भावपूर्ण ऐक्यवद्धताको अपेक्षा गर्दछु।

विधायक ह्यारी भण्डारी, पिएचडी
फेब्रुअरी ११, २०२२

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू