अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

मध्यपुर्वमा भ्रमण वर्ष २०२० को सुझाव संकलन

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:२२ मा प्रकाशित

मध्यपूर्वका खाडी देशहरुमा ‘भ्रमण वर्ष २०२०’ बारे सुझाव संकलन सुरु गरिएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ अघि बढाइएको अभियान सुरु हुन १५ दिन मात्रै बाँकी हुँदा भ्रमण वर्षको सचिवालयले बल्ल सुझाव संकलन सुरु गरेको हो ।

सरकारले सचिवालयका उपसचिव राजन पौडेल तथा शाखा अधिकृतलाई खाडी देशमा सुझाव संकलनका लागि खटाएको छ । ओमानमा गएको हप्ता सुझाव संकलन गरेर यूएई आएको टोलीले विभिन्न ठाउँमा सुझाव र प्रतिबद्धता संकलन गरेको छ । एनआरएन यूएईको सहयोगमा दुबईमा मंगलबार भएको कार्यक्रममा सहभागीहरुले विमानस्थलको सुधार, सुलभ र व्यवस्थित यातायात, सार्वजनिक स्थलमा शौचालयको व्यवस्था जस्ता पूर्वाधारको विकास गर्न सुझाव दिएका थिए । पर्यटकको स्वास्थ्य तथा सुरक्षाका विषयमा पनि सरकार गम्भीर हुनेपर्नेमा उनीहरुले जोड दिएका छन् ।

त्यस्तै आबुधाबीमा बुधवार नेपाली दूतावासको स्थानीय आयोजना तथा भ्रमण वर्षको सचिवालयका प्रतिनिधिको सहभागितामा गरिएको कार्यक्रममा नेपाली समुदायको उपस्थिति थियो । मध्यपूर्वका पर्यटक भित्र्याउन सरकारले विशेष योजनासहित उनीहरुको रुचि र चाहनाअनुसारका योजना ल्याउनुपर्नेमा सहभागीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्ष सफल बनाउन सरकारले गरिरहेको गतिविधिबारे जानकारी दिनुभयो । नेपाली कला र संस्कृति युद्धपछि शान्ति यात्रामा नेपालको सफलताको सन्देश विश्वमा पुगेकाले पनि नेपालप्रतिको आकर्षण बढेको उहाँको भनाइ छ ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पर्यटक भित्र्याउन मुख्य तीन विषय महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सुझाव संकलनको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने सरकारले प्रचारप्रसारमा प्रयाप्त ध्यान नदिएको भन्दै यूएईमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता नेपाली नागरिकले भने असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया