अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

बलात्कार होइन’ भन्दै गलत रिपोर्ट बनाउने दुई जना डाक्टरलाई जेल सजाय

बिआरटीनेपाल २०७६ पुष २ गते ८:२४ मा प्रकाशित

बलात्कार घटनामा गलत रिपोर्ट दिने तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई अदालतले जरिबानासहित कैद सजाय तोकेको छ । विशेष अदालत काठमाण्डौले डाक्टर विजयकुमार सिंह र डाक्टर रम्भा गोइतलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको हो ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाकी भएको एउटा बलात्कारको घटनामा बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको गलत प्रतिवेदन दिएको मुद्दामा डा. सिंह र डा. गोइतलाई अदालतले कैद सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै १६ कात्तिक २०७५ मा मुद्दा दायर गरेको थियो । डाक्टर सिंह र डाक्टर गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र यसअघि नै निलम्बन गरिएको थियो । घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णयसमेत गरेको थियो ।

२०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका(२ की बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए । अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो । जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डाक्टर कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू