अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 21:27

पत्तै भएन

अन्जना २०७६ मंसिर २३ गते ८:५८ मा प्रकाशित

कथा कति बेला लेखिएछ
पत्तै भएन……
तर, एक अजिब पात्र ऊ – ड्रागन जस्तो
बेला बेला फाल्थ्यो आगो जस्ता वचन
धेरै शान्त हुन्थ्यो तलाउ झैँ
अत्यन्त सनकी थियो खहरे झैँ
अचम्म
कहिलेकाहीँ प्रेममा लिप्त भएझैँ तारा गन्थ्यो
आधा आङ खोलेर
रोमान्सको अनुभूतिमा चलायमान हुन्थ्यो,
कथा कति बेला लेखिएछ
पत्तै भएन …….

बिहानीपख आकाशका तारा झैँ
एकाएक ऊ गायब भयो
महिना बिते -वर्ष बिते
ऊ कहाँ गयो पत्तै भएन
सिकारीको निशानाबाट जोगिएको चरीझैँ
बर्षौपछी ऊ एक दिन फर्कियो आफ्नै गुँडमा
मुस्कान झरेर बालुवामा पोखिएझैँ कलेठि ओठ
जिङरिङ्ग कपाल
र ठाउँ ठाउँबाट मुस्कुराइरहेका जस्ता झुत्रे लुगा
जो एक “पागल” न थियो,
अचेल ससाना ओठहरूले गिज्याउँछन् त्यो भयङ्कर मान्छेलाई
अचेल कलिला हातहरूले पनि हेप्छन् उसलाई
जसरी हेपिरहेछ समयले,
ऊ बस!! हेरिरहन्छ हेरिरहन्छ र खिसिक्क हाँस्छ
बस खिसिक्क !

कथा कति बेला लेखिएछ
पत्तै भएन …..

रुखमा पातहरू भन्दा बेसी
गाउँमा हल्ला चल्दैछ
अचेल एक मनुवा आकाश तिर हेरेर
मुस्कुराउँछ रे!
राम्री यौवना देखे टोलाउँछ रे!
मैले पनि उसलाई देखेकी हुँ।
आगो ओकल्ने “ड्रागन”
झरिमा रुझेको “बिरालो”
प्रेममा “पागल प्रेमी”
तर … फेरि आज उ झरिरहेको उल्का झैँ
कता गायब भयो ?
थाहै भएन
कथा कति बेला लेखिएछ
पत्तै भएन …..
गाउँ छेउको खोला किनारमा
ऊ भेटियो!
आधा पानी मा आधा बगरमा
ऊ शीतल थियो
उ आगो थियो
तर अचेल आफूले हेरिरहने तारा बनेको छ
कथा कति बेला सकिएछ पत्तै भएन।

प्रतिक्रिया