अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

कालापानीबाट भारतीय सेना हटाएर नेपाली सुरक्षा निकाय खडा गर्ने तयारीमा– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ६:५४ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कालापानीमा नेपालको स्वामित्व कायम गर्न भारतीय सेना हटाउने र त्यहाँ नेपाली सुरक्षा निकाय खडा तयारीमा सरकार लागेको बताउनुभएको छ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानीलाई पारेपछि त्यसको चर्को विरोध भइरहेका बेला गृहमन्त्री थापाले कूटनीतिक कदममार्फत कालापानीमा भारतीय सेना हटाएर नेपाली सुरक्षा निकाय खडा गर्ने काममा सरकारले गृहकार्य गरिरहेको बताउनुभएको हो ।

बुधबार गृह मन्त्रालयमा सीमा बचाऔँ अभियान, नेपाल अन्तर्गतको नक्सा उप– समितिका प्रतिनिधिबाट लम्पियाधुरालाई समेत समेटेर तयार पारिएको नयाँ नक्सा बुझ्दै गृहमन्त्री थापाले धेरै स्थानमा नेपाली भूमि मिचिएको र त्यसको सुरक्षाका निम्ति धेरै स्थानमा बोर्डर आउट पोस्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । हाल झण्डै ३५ किलोमिटरको दूरीमा ‘बोर्डर आउट पोस्ट’ रहेको र अब त्यसलाई घटाएर १० किलोमिटरको दूरीमा त्यस्ता पोष्टहरु सञ्चालनमा ल्याउने मन्त्री थापाले बताउनुभयो । यसैक्रममा कालापानी क्षेत्र ओगटेको दार्चुलामा पनि त्यस्ता निकाय राख्ने काममा आफूहरु केन्द्रीत भएको उहाँको भनाई थियो।

त्यसअघि स्वनाम साथी संयोजकत्वको सीमा बचाऔँ अभियान र त्यसअन्तर्गत पत्रकार भैरव रिसाल संयोजकत्वको नक्सा उपसमितिले तयार पारेको नक्सा भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने गरी हस्तानन्तरण गरिएको थियो। साथै बुधबार नै पूर्णकुमारी सुवेदी सभापति रहेको कृषि समितिलाई पनि उक्त नक्सा प्रदान गरेको थियो ।

उक्त अवसरमा मन्त्री अर्यालले कालापानीबाट भारतीय सेना पठाउनका लागि नेपालसँग यथेष्ट प्रमाण रहेको र थप खोज्नसमेत जरुरी नभएको बताउनुभएको थियो । कृषि समितिकी सभापति पूर्णकुमारी सुवेदीले पनि कालापानीबाट भारतीय सेना हटाउने कार्यले सफलता प्राप्त गर्ने र त्यसमा नागरिक स्तरबाट सहयोग र दबाबको आवश्यकता पर्ने बताउनुभयो । अभियानमा माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, डा. गौरीशंकर लाल दास, हिमालय शम्शेर जवरा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, केदारभक्त माथेमा, गौरीबहादुर कार्की, डा.चैतन्य मिश्र, डा. तुलसीराम वैद्य, द्वावारिकानाथ ढुंगेल, प्रा.डा नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँइला, शान्त श्रेष्ठ, सन्तबहादुर पुन, स्वानाम साथी, हिरण्यलाल श्रेष्ठ लगायतले हस्ताक्षर गरेको १० बुँदे माग पत्र पनि बुझाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू