अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ३३३ उम्मेदवार चुनावी मैदानमा

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ६:५१ मा प्रकाशित

शनिबार (मंसिर १४) गते हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगकाअनुसार निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुर्याईसकिएको छ भने मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रमा पुगेका छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी, सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित बुधबार साँझसम्म मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपचुनाव हुँदैछ । स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभाको मकालु गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि चुनाव हुनेछ । यस्तै विभिन्न स्थानीय तहका ४३ वडाअध्यक्ष पनि उपचुनावबाट चुनिनेछन् ।

उपनिर्वाचनमा जम्मा ५२ पदका लागि ३३३ (२५३ पुरुष र ८४ महिला) उम्मेदवार छन्, जसमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना छन् । उपनिर्वाचनमा ३७ जिल्लाका २ लाख ३३ हजार ४०२ महिला र २ लाख २० हजरा ७१० र अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार ८७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३५ हजार १८४ र ६८ हजार ७१९ मतदाता छन् । स्थानीय तहतर्फ २ लाख ३३ हजार ३२५ जना मतदाता छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ पश्चात् उपनिर्वाचन हुने क्षेत्रमा १६,२१९ जना नयाँ मतदाता थप भएको निनर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३५४ जना कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २,६८४ जना कर्मचारी, स्वयंसेवक २ हजार ०१६ गरी जम्मा ५ हजार ५४ जना खटिएका छन् । आजै बुधबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ भने १४ गते मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू