अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

संसद् समितिमा पुनर्निर्माणको प्रगति

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ९:५७ मा प्रकाशित

६२ प्रतिशत घर सम्पन्न, २४ प्रतिशत बन्दै

काठमाडौँ, भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिनु भएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको बताउनुभयो । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८० प्रतिशतले दोस्रो किस्ता १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता ३ लाख रुपैयाँ अनुदान प्राप्त गरिसकेका छन् । प्राधिकरणले जोखिमपूर्ण बस्तीमा रहेका ४९ सय २९ लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीमा व्यवस्थित गरेको बताएको छ । यस्तै ८ हजार २ सय ८६ भूमिहीन भूकम्प पीडित मध्ये ८७ सय ४४ लाई घर बनाउने व्यवस्था मिलाएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

११ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ५८ प्रतिशत सम्पन्न र १४ प्रतिशत निर्माणाधीन छन् । भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगेकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधीन छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्डप लगायतका संरचनाको पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो । प्राधिकरणले समितिले यसअघिका दिएका निर्देशन कार्यान्वयनको प्रगति पनि पेस गरेको थियो । जसमा गुनासो सुनुवाइ, जोखिममा परेका वर्गका लागि थप ५० हजार उपलब्ध गराउने व्यवस्था, सुकुम्वासी तथा भूमिहीनहरूलाई घर बनाउने व्यवस्था, आर्थिक अभावका कारण पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिएकालाई सहुलियत दरमा ऋण लिने व्यवस्था, जीविकोपार्जन सम्बन्धी कार्यक्रम लगायत छन् ।

समिति सभापति कल्याणी खड्काले समितिको निर्देशनअनुसार काम भएकोमा खुसी व्यक्त गर्दै एक जना भूकम्प पीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिनु पर्ने बताउनुभयो । सभापति खड्काले सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसद्को पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन निर्देशन दिनुभयो । बैठकमा सांसद गणेश पहाडीले पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै प्रबलीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद विना श्रेष्ठले पछिल्लो समयमा रानीपोखरी, धरहराको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै बसन्तपुर क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणमा अझ बढी ध्यान दिन आग्रह गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सांसदहरूको विशेष सकृयताले जिल्ला जिल्लामा पुनर्निर्माण सही ढङ्गले अघि बढेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू