अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

जनकपुरमा ‘नेपाल साहित्य महोत्सव’ शुरु

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:२१ मा प्रकाशित

आईएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करणसुरु भएको छ । जनकपुरको जानकी मन्दिर प्रांगणमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले वृक्षारोपण गर्दै तीनदिने साहित्य महोत्सवको उद्घाटन गर्नु भएको हो । साहित्य महोत्सवको पहिलो दिन लेखक हरि शर्माले विद्वत प्रवचन दिनु भएको थियो । ‘सीमाञ्चलको साहित्य’ विषयमा प्रवचन दिनु भएका शर्माले भाषा, साहित्य र संस्कृतिले अपनत्व बढाउने बताउनुभयो । त्यस्तै लेखक तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले हरि शर्माको चिनारीका बारेमा प्रकाश पार्नु भएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताउनुभयो । तीन दिनसम्म चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन प्रदीप गिरीले दिनु हुनेछ । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले ‘जनकनन्दिनी सीता’माथि विचार राख्नु हुनेछ ।

‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक–पत्रकार सुधीर शर्मासँग बहस गर्नु हुनेछ । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले त्यो सत्र सञ्चालन गर्नु हुनेछ । ‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चा परिचर्चा हुनेछ । सन् २०११ देखि सुरू अन्तर्राष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू