अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

कास्कीमा नेकपाको उपनिर्वाचन लक्षित परिचालन समिति गठन

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:१९ मा प्रकाशित

मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको ५औँ पूर्ण बैठकले निर्वाचन परिचालन समितिसहितका विभिन्न उपसमिति गठन गरेको जानकारी दिनुभयो ।

घोषित कार्यक्रमअन्तर्गत कात्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्दै जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने, २३ गते पार्टी अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै २४ गते निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटै वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरिएको थापाले जानकारी दिनुभएको छ । बैठकले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेकोे छ भने ११ वडामा वडास्तरीय निर्वाचन कमाण्ड कमिटी गठन गर्ने निर्णय गरेको छ ।

यसअघि कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपाका उम्मेदवार विद्या भट्टराई स्व. अधिकारीकी धर्मपत्नी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू