अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

सुदूरपश्चिमका सांसदद्धारा गण्डकी प्रदेशसभा भ्रमण

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:२९ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुले गण्डकी प्रदेशसभाको अवलोकनसहित प्रदेशका मुख्यमन्त्रीसँग भेट गरेका छन् । सुदूरपश्चिमबाट अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्क बहादुर कुँवरको नेतृत्वमा प्रदेशसभा सदस्यहरु मंगलबार पोखरा आएका थिए ।

प्रदेशसभाको अवलोकन पश्चात उनीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटघाट गर्दै प्रदेश सरकारको बारेमा जानकारी लिएका छन् । संघीयताको सफल कार्यन्वयन, प्रदेश सभाले बनाउने कानुन, संघ र स्थानीय तहसंगको समन्वय गर्ने विषयमा अनुभव साटासाट भएको सुदूरपश्चिम प्रदेशसभा सदस्य कुँवरले जानकारी दिनुभयो ।

भेटमा मुख्यमन्त्री गुरुङले चालु आर्थिक वर्षमा प्रदेश सरकारहरुले गति लिन सक्नुपर्ने बताउनुभएको थियो । कर्मचारी समायोजन केही मात्रामा भएको, कानुन निर्माण र कार्यबिधी बनेको र सरकारले पनि केही अनुभव बटुलेको भन्दै अब काम गर्न अनकुल रहेको समेत गुरुङको भनाई थियो ।

भेटमा सुदूरपश्चिमका सांसद्हरुले प्रदेशको अल्प, मध्य र दीर्घकालीन योजनाको तथा लक्ष्यको बारेमा चासो राखेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोग बनाएर जान सुझाव दिनुभयो । गण्डकी प्रदेशले हेलो मुख्यमन्त्री, एक्सन रुम जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सुरुवात गरेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले यसलाई सुदूरपश्चिम प्रदेशले पनि सुरुवात गर्दा जनताको गुनासो सुन्न सहज हुने बताउनुभयो ।

आयोजित कार्यक्रममा स्थानीय तहले प्रदेशको योजनामा कम चासो दिने गरेको विषयमा सांसदहरुले सुझाव मागेको थिए । मुख्यमन्त्री गुरुङले स्थानीय निकाय स्वतन्त्र नभई स्वायत्त निकाय भएकोले प्रदेशको योजनामा साथ दिन आवश्यक रहेको बताउनुभयो । प्रदेश सांसदहरुले सांसद क्षेत्र विकास कोषलाई परिचालन गर्ने विषयमा समेत छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू