अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

डेंगीबाट अहिलेसम्म ४ जनाको मृत्यु, २६०० संक्रमित

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:३२ मा प्रकाशित

डेंगीको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ । देशभर डेंगीको प्रकोप फैलिएको समाचार आइरहेका बेला सरकारले भने डेंगीकै कारण मृत्यु भएको आधिकारिक संख्या चार मात्र रहेको बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको जानकारी दिनुभएको छ । यद्यपि, ती चारको पनि डेंगीबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको श्रेष्ठले बताउनुभयो ।

महाशाखाका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगीकोे संक्रमण आशंका गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएको छ । प्रदेश २ मा २३, गण्डकी प्रदेशमा ५७२, प्रदेश ५ मा १०५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगीकोे संक्रमण देखिएको छ । यो तथ्यांक सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरूको मात्र हो ।

डेंगी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ । गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू