अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१९ का लागि आह्वान

बिआरटीनेपाल २०७६ भदौ २१ गते ९:१३ मा प्रकाशित

नेपाल पत्रकार महासङ्घ बेलायत र गैरआवासीय नेपाली सङ्घ युकेको विशेष सक्रियतामा स्थापना गरिएको ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपाल र नेपालीका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार समितिका संयोजक भूषण घिमिरेले पठाएको प्रेस विज्ञप्ति अनुसार यस वर्ष प्रदान गरिने सो पुरस्कारका लागि निम्न बमोजिमको आह्वान गरिएको छ ।

पुरस्कारका लागि निम्नलिखित आधारहरू तोकिएका छन्–
१. विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन/सञ्चार गृहमार्फत गैरआवासीय नेपालीका बारेमा नेपाली वा अङ्ग्रेजी भाषामा कम्तीमा पाँच वर्ष लगातार मूलधारको मिडियामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरू पुरस्कारका लागि योग्य हुनेछन् ।

२. विभिन्न सञ्चार माध्यममा गैरआवासीय नेपालीका बारेमा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरूको मूल्याङ्कन गरी सो पुरस्कार प्रदान गरिने छ ।

३. गैरआवासीय नेपालीका जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरूलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ ।

४.तोकिएको अवधिभित्र इच्छुक पत्रकारहरूलाई तल उल्लिखित सम्पर्क ठेगानामा आफ्ना समाचार सामग्रीहरू पठाउन हुन अनुरोध गरिन्छ । यसै गरी, यदि कसैलाई कुनै पनि सञ्चारकर्मीले गैरआवासीय नेपालीका बारेमा पत्रकारितामार्फत उल्लेख्य योगदान पुर्‍याएको भन्ने लाग्छ भने त्यस्ता व्यक्तिको नाम पनि पुरस्कारका लागि सिफारिस गर्न सकिने छ ।

५. एनआरएनएको पदाधिकारी र एक पटक पुरस्कृत भैसकेको व्यक्ति पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।

६. पुरस्कृत व्यक्तिको छनौटका लागि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता, गैरआवासीय नेपाली सङ्घ युके, नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ युके शाखाको परामर्शमा एक समिति बनाइने छ ।

७. पुरस्कृत पत्रकारलाई एकल वा संयुक्त रूपमा जनही ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ प्रदान गरिने छ ।

८. तोकिएको मिति भित्र आफूले लेखेको, प्रसारण गरेको, श्रव्य–दृश्य, समाचार, लेख रचनाहरूका प्रकाशित, प्रसारित सामग्रीहरू (बढीमा तीन वटा) र सिफारिसहरू निम्न इमेलमा पठाउनु पर्नेछ ।

९. सम्पर्क ठेगाना इमेल nrnaprize@nrna.org
१०. पुरस्कृत हुने व्यक्तिहरूको नाम www.nrna.org मा प्रकाशित गरिने छ ।

११. आइपुग्नु पर्ने मिति— ३० सेप्टेम्बर, २०१९ ( नेपाली समयअनुसार राति १२ बजेभित्र)
१२. पुरस्कृत पत्रकारलाई अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको सङ्घको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू