अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

कार्डियोभास्कुलर स्वास्थ्यमा नयाँ अध्ययनः दिनको एक चक्की औषधि, जसले घटाउँछ हृदयघात र स्ट्रोकको जोखिम

बिआरटीनेपाल २०७६ भदौ ७ गते ८:२९ मा प्रकाशित

बिभिन्न ४ थरीका औषधि रहेका पिल्स (औषधिको गोली) दैनिक सेवन गर्दा हृदयघात तथा स्ट्रोकको दर एक तिहाईले कम गर्ने एक अध्ययनले देखाएको छ । रगत पातलो बनाउने एस्पिरिन, कोलेस्ट्रोल कम गर्ने स्टाटिन र रक्तचाप कम गर्ने दुई औषधि रहेको पोलीपिल नामक चक्की दैनिक सेवन गर्दा स्ट्रोक र हृदयघात घटेको देखिएको हो ।

इरान र बेलायका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सीमित खर्चमा पोलीपिल चक्कीको ठूलो सकारात्मक प्रभाव देखिएको दाबी गरिएको छ । सीमित उमेर पार गरेका व्यक्तिलाई दैनिक यो औषधि दिन सकिने अनुसन्धाकर्ताले बताएका छन् । विशेषगरी कम विकसित तथा गरिब देश, जहाँका डाक्टरसँग सीमित मात्रै विकल्प हुन्छन् र सर्वसाधारणसम्म पुग्ने सम्भावना कम हुन्छ, ती देशमा यो औषधि प्रभावकारी हुने जनाइएको छ ।

विश्वव्यापी रुपमा कोरोनरी हार्ट डिजिज र स्ट्रोक मृत्युका प्रमुख दुई कारणमा पर्छन्, जसका कारण बर्सेनी १ करोड ५० लाख मानिसको ज्यान जाने गरेको छ । धुम्रपान, मोटोपन तथा निकै कम मात्रै शारीरिक व्यायामका कारण मुटु स्वास्थ्यमा जोखिम बढ्ने गरेको छ ।

इरानका १०० भन्दा बढी गाउँमा झण्डै ६ हजार ८ सय मानिसमा गरिएको अनुसन्धानको प्रतिवेदन द ल्यान्सेट जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानको क्रममा आधालाई पोलीपिल दिइएको थियो र जीवनशैली स्वस्थकर बनाउन सुझाव दिइएको थियो । बाँकी आधालाई पोलीपिल दिइएन, तर जीवनशैली स्वस्थकर बनाउने सुझाव भने दिइएको थियो । पाँच वर्षसम्म पोलीपिलको सेवन गरेका ३ हजार ४२१ मध्ये २०२ जनामा गम्भीर खालको कार्डियोभास्कुलर समस्या देखियो । यस्तै पोलीपिल सेवन नगरेका ३ हजार ४१७ मध्ये ३०१ जनामा सो समस्या देखिएको बताईएको छ ।

पोलीपिलले रगतमा रहेको खराब कोलेस्ट्रोलको मात्रा ठूलो मात्रामा कम गर्ने र रक्तचापमा थोरै मात्र प्रभाव पर्ने अध्ययनमा देखिएको छ ।अनुसन्धानको क्रममा ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई औषधि दिइएको थियो । सहभागी भएका व्यक्तिहरु मुटु सम्बन्धी समस्या भएका र नभएका दुवै थरी व्यक्ति थिए । पोलीपिलको आइडिया सन् २००१ मै विकास भएको थियो, तर यो पहिलो पटक हो जहाँ यसको प्रभावकारिता ठूलो स्तरमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू