“पुलिस आयो ! पुलिस आयो !!” सडक छेउभरि धुवाँ झैँ यही आवाज फेलियो । सबै व्यापारीहरू आआफ्ना सामान पोको पारेर दौडेको दृश्य देखियो । यस्तैमा हरिमाया दोजिया भएको कारण हतार हतार दौडिन भ्याइन । एक हुल मान्छेहरू चिलले कुखुरा झम्टेझैँ ऊ माथि खनिए । ऊ अनुनय विनयमा बोल्न थाली, “मैले यी सामानहरू हर्के साहु कहाँबाट ल्याएकी हुँ; भरे उसलाई नाफासहित बुझाउनुपर्छ । म र मेरो परिवार उहाँको दयामा बाँचेका छौँ । श्रीमान् अरबको खाडीमा हराउनुभयो । ठुलो छोरा क्यान्सरको सिकार भयो । ठुली छोरीको साँझ परेपछि व्यापार सुरु हुन्छ । अरू छोरीहरू सानै छन् । हामी आमा छोरीको कमाइले सबै परिवार पाल्नुपर्छ । दैवले त ठगिहाल्यो । कमसेकम, हजुरहरूले त मानवीय व्यवहार गर्नुस् न हजुर ! अब आइन्दा बरु अरू नै तिर जाउँला ।“
“यसलाई नगरपालिकामा बुझाउनुपर्छ ।” आदेश जारी भयो हवलदारको । हेर्दाहेर्दै हरिमाया र उसका सबै सामानहरू पोको पारी भ्यानमा लोड गरेर नगरपालिका कार्यालय लगियो । रमितेहरू खासखुस गर्न थाले, “हेर हेर बिचरी ! यति दुःख गरेर गुजारा गर्दा पनि सुख छैन । प्रहरीको ड्युटी त पालन गर्नै पर्ने होला तर हरिमायाको गासवासको समस्या चाहिँ कसले बुझ्ने ? उसको छोरीको समस्या कसले बुझ्ने ?”
एकै छिन पछि तितरबितर भएका फुटपाथका व्यापारीहरू जम्मा भए र विरोध जुलुसको तयारीमा जुट्न थाले ।
*पृथ्वीनारायण क्याम्पस, पोखरा, नेपाल