अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

जमिनमुनि पानी सोस्नेबारे अनुसन्धान गर्दै विद्यार्थी

बिआरटीनेपाल २०७६ साउन २० गते ११:०५ मा प्रकाशित

काठमाडौँ । आकाशबाट परेको पानी जमिनमुनि नसोसेर चिन्तामा परेका विद्यार्थीको एउटा समूह जमिनमुनि पानी सोस्ने बनाउनेबारे एक अनुसन्धानमा जुटेका छन् । ख्वप कलेज देकोचा भक्तपुरमा एमएसी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी जमिनमुनि सोस्ने बनाउने अनुसन्धानमा लागिपरेका हुन् ।

उनीहरू दैनिक भक्तपुरस्थित गोर्खा प्रिकाष्ट एन्ड विण्डोर प्रालि चाँंगुरोड भक्तपुरस्थित कारखानामा पुगेर पानी सोस्ने ब्लक (पे भर) बारे अनुसन्धानमा जुटेका छन् । पानी सोस्ने ब्लक पेभरबाट के कति मात्रामा पानी सोसिरहेका छन् र कसरी यसको प्रयोग गरी जमिनमुनि आकाशे पानी पठाउन सकिन्छ भन्नेबारेमा उनीहरू लागिपरेका हुन् ।

समूहमा सहभागी विद्यार्थी शान्ता चौधरीले पानी सोस्ने ब्लकले सोस्ने पानीको मात्राबारे अनुसन्धान गरिरहेको बताइन् । आकाशबाट परेको पानी जमिनमुनि नगई खोलाबाट सिधै समुद्रमा मिसिन जाँदा समस्या भएकाले समस्या समाधानका लागि सहयोग गर्न अनुसन्धान गरिरहेको उनले जनाइन् । आकाशबाट परेको पानी सिधै समुन्द्रमा जाँदा एकातिर यहाँ पानीको समस्या रहेको र अर्कोतिर सडकमा पनि खोला जस्तै पानी बग्दा समस्या भएको उनले सुनाइन् ।

उनीहरूको अनुसन्धानस्थलमा पानी सोस्ने ब्लक (पे भर) पनि उत्पादन हुन्छ । विद्यार्थीले पेभरलाई डममा राखेर त्यसको तल बालुवा राखी पेभरले पानी सोस्न सक्ने क्षमताबारे अनुसन्धान गरिरहेका हुन् ।

अर्का विद्यार्थी अनुसन्धानको परिणाम आएपछि जमिनमुनि पानी पठाउन केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास गरिन् । ‘यो कुनै एउटाको मात्रै समस्या होइन, समग्र काठमाडौँ उपत्यकाकै समस्या हो, उनले भनिन्, ‘राष्टिय समस्याको रूपमा रहेको यो समस्यालाई हामी विद्यार्थीको तहबाट भए पनि केही सहयोग होस् भनेर काम गरेका हौँ ।’

अहिले पानी पर्‍यो कि बाटोमा पानी जम्ने मात्रै नभई भेल बग्ने समस्या दिनदुगुणा रात चौ गुण चर्को बन्दै गइरहेको छ । यसो हुनुको मुख्य कारण पानी सोस्न सक्ने खाली ठाउँको अभाव हुनु हो । भएका खाली ठाउँमा पनि कङ्क्रिट अनि पानी नसोस्ने ब्लकको प्रयोग हुनु हो । साथसाथै ढुङ्गा छाप्दा केही इन्च सिमेन्ट राखेर पानी नसोस्ने बनाउनु पनि हो । सवैतिर घर तथा भौतिक संरचनाहरू बन्नु पनि अर्को कारण हो । जताततैका सडकमा कालोपत्रे हुनु पनि थप कारण हो । घर आँगन, बाटो छेउको पेटीमा गरेको ढलान अथवा पानी नसोस्ने पे भर (ब्लक) को प्रयोग हो । यसो हुँदा पानी सिधै जमिनमुनि नगई सडकबाट बग्दा यस्तो नयाँ समस्या उब्जेको हो । बाटो मुनि बिछ्याएको ह्युमपाइपको सीमित पानी बग्ने क्षमताका कारण पानी बाटोमै जम्मा हुने गरेको हो ।

गोर्खा प्रिकाष्ट एन्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर राजन दुवालले सडकमा पानी सोस्ने ब्लकको प्रयोग गर्न सकिए केही मात्रामा भए पनि यो समस्या समाधान हुने बताए । उनले नीतिगत रूपमै यसको सम्बोधन हुनुपर्ने आवश्यकता औँल्याए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू