अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

मोरङमा बस र पिकअप भ्यान ठोक्किँदा दुईको मृत्यु, २६ जना घाइते

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३७ मा प्रकाशित

मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको सडक दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान यात्रुवहाक बस र पिकअप भ्यान एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमा र अर्का एकजनाको विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा बसले किच्दा घटनास्थलमै मृत्यु भएका पुरुषको अझैपनि पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी उपचारका लागि विराटनगर लैजाने क्रममा ३१ वर्षिय टिकाराम थापाको बाटोमै मृत्यु भएको हो । मृतक थापा बसका सह–चालक हुन् । उनी मोरङ कानेपोखरी गाँउपालिका निवासी भएको बताइएको छ । थापाको शव कोशी अञ्चल अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २६ जना घाइते अवस्थामा रहेका छन् । उनीहरुको विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो। बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू