अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

पहिलोपटक सांसद्हरुको भिडियो प्रोफाईल सार्वजनिक

बिआरटीनेपाल २०७६ असार १६ गते ९:४९ मा प्रकाशित

संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको छ । ६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाइल सार्वजनिक गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई ‘पेपरलेस’ गरी डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरूलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको भन्दै गुनासो गर्नुभयो । मन्त्रिपरिषद् बैठकमा ‘पेपरलेस’ गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसद्हरूलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पार्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपूर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाइल रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो । जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने उहाँको तर्क थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू