अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ असार ३ गते ९:५३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई मंगलबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोल कविता लेख्नु खुशीको विषय भएको बताउनुभयो ।

कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय रहेको उल्लेख गर्दै उहाँले साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्ने बताउनुभयो । समारोहमा विसं २०७५ को कविता महोत्सवमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरिएको थियो । तृतीय हुने अर्का कवि जीवन खत्री भने कार्यक्रममा उपस्थित हुनुभएन ।

कार्यक्रममा यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्सवको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू