अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

NRN Family Card को औपचारिक सुरुवात

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ४:५३ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट NRN Family Card को औपचारिक सुरुवात गरिएको छ । गैरआवासीय नेपाली सङ्घको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी NRN Family Card को सुरुवात गरिएको हो । यो कार्ड सङ्घका पञ्जीकृत सदस्यहरूका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान्–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने छन् । यद्यपि विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।

सङ्घले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरूसँग सहमति गरी ती प्रतिष्ठानले आपूर्ति गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले सङ्घका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

कार्ड पाएपछि सङ्घमा पञ्जीकृत सदस्य र उनीहरूका परिवारका सदस्यले नेपाल भित्र र बाहिर सङ्घसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरू, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धी क्षेत्र, बैङ्किङ क्षेत्र, बिमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात् कार्ड पुनः नवीकरण गराउनुपर्नेछ ।

यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । सङ्घले आफ्ना सदस्यहरूको क्यू आर (त्तच् )कोड सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरिसकेको छ ।

आजको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई सङ्घको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताउनुभयो । गैरआवासीय नेपालीहरूको सञ्जाललाई थप बृहत् बनाई उनीहरूले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन शकुन भनी यो कार्डको व्यवस्था गरिएको उहाँको भनाई थियो ।

यस्तै सङ्घकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताउनु भयो । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैङ्किङ, बिमा लगायतका क्षेत्रका प्रतिष्ठानहरूसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन शिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू