अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

मेलम्चीपछि सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा

बिआरटीनेपाल २०७६ जेठ २६ गते ९:२७ मा प्रकाशित

खानेपानीको क्षेत्रमा पोखरामा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो । त्यस्तै यो आयोजना काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।

पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउने भएको हो । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिनुभयो । खानेपानीमन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास मंगलबार गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू