अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:२८ मा प्रकाशित

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेको तर्फ उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभयो । सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए ।

सभामुख कृष्णबहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।

यसअघि संसदको अघिल्लो अधिवेशनमा पनि राजपा सांसदहरुले पटक, पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् । सरकारले भने अध्ययन गरिरहेको र उपयुक्त समयमा सार्वजनिक गर्ने जवाफ दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू