अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

आमा – भुपेन्द्र महत

भुपेन्द्र महत २०७६ वैशाख २९ गते २३:१६ मा प्रकाशित

तिम्रो पटपट फुटेका पैतालाले कोरेको धर्सा भित्र
बामे सरेर हुर्केका वर्तमान
तिम्रो ममताको अभावमा
हुन त न दरफराएको कहाँ र आमा !

तिमीले आफ्नो गाँस काटेर
भरेको यो मेरो सानो पेट
अचेल कहिले भरिन्न आमा
किन कि
अचेल मलाई धेरै भोक लाग्छ
धेरै भोक यसर्थ कि
यो भोक भित्र लोभ मिसिएको छ
यो भोग भित्र लालच भरिएको छ
हुन त यो पेट खुम्चिँदै जाँदा
यसको आयतन पनि घट्नु पर्ने हो
पाचन शक्ति घटेर
परबेजमा तौली तैली खान पर्दा
थोरैमा भरिनु पर्ने हो
तर यो पेट भरिन्न आमा

अलौटा मकै सागको डुकु
गहुँ बारीको कुटुली कोसा
चिचिले कटमेरा फलफुल
अगेनामा पोलेको आधा काँचो आलु
नुन खोर्सानी दलेर खाको काँक्रो
नपखाली लुगैमा पुछेर खाको मुला
सबले भरिथ्यो यो पेट आमा

तिम्रो क्षीण भएको श्रवण शक्ति
लर्खराउने तिम्रा झिना खुट्टा
धमिलिएको तिम्रो आँखा
घट्दै गएको तिम्रो स्मरण शक्ति
सबले मलाई खोज्दो हो
माफ गर म लाचार छु आमा
किन कि म यो पेट भर्न तल्लीन छु
किन कि यो पेट कहिल्यै भरिन्न

प्रतिक्रिया