अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

राष्ट्रिय सभाबाट विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:२८ मा प्रकाशित

राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ । आज बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशोधन पनि भएर आएको र आवश्यक परे भविष्य संशोधन गर्न सकिने भएकाले विधेयक पारित गरी सहयोग गर्न आग्रह गर्नुभएको थियो । संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गर्नुभएको थियो ।

कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजीरोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संसोधन दर्ता गराउनुभएको थियो । विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्री लगायत साना साना उद्योग व्यवसायलाई नकारात्मक लिस्टमा राखी ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू