अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

निर्मला पन्त प्रकरण – पूर्व एसपी विष्टद्धारा अदालतमा आत्मसमर्पण

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:१६ मा प्रकाशित

निर्मला पन्त बलात्कारपछि हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गर्नुभएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला त्यही नगरको उल्टाखाम भन्ने ठाउँमा मृतअवस्थामा भेटिएपछि भएको अनुसन्धानका क्रममा प्रमाण नष्ट भएको थियो ।

विष्ट त्यतिबेला कञ्चनपुरका प्रहरी प्रमुख हुनुहुन्थ्यो । नेपाल प्रहरीले विष्ट लगायत ८ जनालाई प्रमाण नष्ट गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा लगेपछि उहाँ फरार हुनुभएको थियो । आज भने विष्ट जिल्ला अदालत कञ्चनपुरमा बयानका लागि उपस्थित हुनुभयो ।

न्यायाधीश राजेन्द्र आचार्यको इजलासमा विष्टको थुनछेक बयान हुनेछ । बयान सकिए बहस सुरू हुनेछ । बहस पनि सकियो भने विष्टलाई लाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा तारेखमा छोड्ने निर्णय अदालतले गर्ने छ ।

आज बयान र बहस सकिए आज नभए भोलिसम्ममा उनलाई थुनामा पठाउने वा तारेखमा छोड्ने निर्णय हुन सक्ने श्रेष्तेदार अवस्थीले जानकारी दिनुभयो । निर्मला पन्त हत्या प्रकरणका अन्य ६ जना आरोपी भने धरौटीमा छुटेका छन् । गत फागुन ३० गते जिल्ला अदालत कञ्चनपुरका न्यायधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सई द्वय हरिसिंह धामी, रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने हालसम्म फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू