अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

हो ! म एक नारी हुँ

निशा अर्याल २०७५ फागुन २४ गते ९:४७ मा प्रकाशित

हो ! म एक नारी हुँ
यो सारा पृथ्वीको,
म एक अस्तित्व हुँ,
फलामको सिक्रीले,
युग-युगदेखि बाँधिरहेछौ,
तिमी मेरो अस्तित्वलाई !
मेरा यी कोमल गोडाहरूमा,
सिक्री बाँधेर तिमी,
नित्य गर्न भनिरहेछौ ?

युग युगदेखि,
मुखबाट थुतेर जिब्रो,
मलाई गाउन सधैँ,
लाइरहेछौ नयाँ गीत.
मेरा हातमा लगाइएको यी राता चुराहरू,
हतकडी हुन् कि चुरा हुन् ?
मेरा खुट्टामा बजिरहेको पायलहरू,
नेलहरू हुन कि पाउजु हुन ?

युग युगदेखि सोधिरहेछु,
म आफैसँग यी प्रश्नहरू ।
मेरा यी आँखाहरूमा तिमीले
युग युगदेखि,
भरेका सपनाहरू केवल,
सपना मात्रै थिएँ भ्रमका सपनाहरू,
यति बेला म बुझिरहेछु,
सपनाको रहस्य आत्मा बिक्री गरेर,
बाचिएको जीवन स्वीकार छैन मलाई,
झुटटा सपना मुटुभरि साँचेर अब,
कदाचित हाँस्नु छैन मलाई |
म अस्तित्व हुँ यो सृष्टिको,
म जीवन हुँ यो धर्तीको,
शून्यमा हराएर जाने छैन म !

म नारी हुँ यो संसारमा
मसँग छन् हजारौँ सुन्दर-सुन्दर सपनाहरू,
मलाई कुरूप सपना,स्वीकार छैन
कहिल्यै मलाई दासताको जिन्दगी,
स्वीकार छैन बुझ्यौ म नै अस्तित्व हुँ,
यो सृष्टिको म नै गौरव हुँ,
यो धर्तीको हो, मलाई स्वीकार छैन,
बन्धनमा बाँधिएको जीवन र,
मलाई स्वीकार छैन,
रोई रोई लाचार भई बाँच्नु पर्ने जीवन ।