अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

प्रचण्डले भेनेजुएलाको राजनीतिक प्रकरणको वक्तव्य प्रति जनसम्पर्क समिति अमेरिकाको प्रेस नोट

बिआरटीनेपाल २०७५ माघ २४ गते २२:५५ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाको कन्फरेन्स बैठक संस्थाको सभापति आनन्द विष्टको अध्यक्षतामा यही फेब्रेवरी 3, 2019 आइतबारको दिन बस्यो । उक्त बैठकबाट पारित केही विषयलाई विस्तारमा प्रेषित गरिएको छ ।

१. सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय अगाडि भेनेजुएलाको राजनीतिक प्रकरणलाई कटु आलोचना गर्दै लेखेको वक्तव्य प्रति सङ्गठनको गम्भीर ध्यान आकृष्ट भएको छ ।

नेपाल र नेपालीसँग खासै सम्बन्ध र साइनो नभएको देश भेनेजुएकाका लागि, वर्षौँ पुरानो कूटनीतिक सम्बन्ध स्थापित भएको राष्ट्र तथा राजनीतिक बिचार, पद्धति विकास र विधिको शासनको दृष्टिले विशिष्ट सम्बन्ध भएको मुलुक अमेरिकासँगको सम्बन्ध नै बिगार्ने गरी आएको सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्षको यस्ता गैरकूटनीतिक अपरिपक्व विज्ञप्ति र त्यसलाई वैधानिकता दिने सरकारको प्रष्ट्रीकरण प्रति नेपाली जनसम्पर्क समिति अमेरिका आपत्ति प्रकट गर्दै, घोर भर्त्सना गर्दछ । यस्ता विज्ञप्ति असंवेदनशील मात्र होइन, नेपालको राष्ट्रिय हित विपरीत भएको ठहर पनि हाम्रो सङ्गठनको छ । त्यसैले लोकतान्त्रिक मुलुक नेपालको विकासका लागि मुख्य सहयोगी र लाखौँ नेपाली बसोबास गर्ने राष्ट्र अमेरिकाबिचको सम्बन्धमा चिसोपन ल्याउने यस्ता खाले कुनै पनि गतिविधि नगर्न सङ्गठनले नेपाल सरकार र सत्तारुढ कम्युनिस्ट पार्टीसँग आग्रह गरेको छ ।

२.संसदीय सर्वोच्चता र मर्यादाको धज्जी उडाउँदै, लोकतान्त्रिक मूल्य, मान्यता र स्थापित विधिलाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नीतिलाई हेर्दा वर्तमान सरकार कम्युनिस्ट अधिनायकवाद उन्मुख भएको ठहर हाम्रो सङ्गठनको छ । यो अधिनायकवादी सरकारले बहुमतको दम्भमा बल प्रयोग गरेर, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु, मुलुकको ऐतिहासिक परिवर्तनका धरोहर स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्ने प्रपञ्च रच्नु, संवैधानिक परिषद्मा विपक्षी दलको नेतालाई छलेर मनपरी नियुक्ति गर्नु, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याका दोषीलाई संरक्षण गरी निर्दोष व्यक्तिलाई चरम यातना दिएर जबरजस्ती अपराध कबुल गराउने दुष्प्रयास गर्नु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्नु लगायत संविधानको मर्म र भावनालाई कुल्चिएर गरेका अनेकौँ अधिनायकवादी रवैया,हरकत र निर्णयहरूको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र विरोध गर्दै, मातृ पार्टी नेपाली काँग्रेसले संसद् र सडकबाट तथा पार्टीको अन्य भातृ र शुभेक्छुक सङ्गठनहरूले सडकबाट गर्दै आएको र गर्ने सबै खाले विरोधका कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ ।

३.गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी निर्वाचनका लागि सदस्यता लिनका निमित्त सम्पूर्ण अमेरिकावासी नेपालीहरूलाई सङ्गठनले विशेष आग्रह गर्दै, TPSको बारेमा पनि सम्बन्धित निकायसँग पहल गर्ने भएको छ । साथै पार्टीको हालै काठमाडौँमा सम्पन्न महासमिति बैठकबाट विदेश स्थित जनसम्पर्क समितिहरूको हकमा लागु हुने पारित विधानलाई केही सहजिकणको लागि पार्टीको केन्द्रीय कार्यसमिति समक्ष समितिले आग्रह गरेको छ ।

धन्यवाद , जय नेपाल

मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
Date:-02/04/2019.

प्रतिक्रिया