अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

मुला खाँदा फाइदै फाइदा

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:५४ मा प्रकाशित

मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ ।

विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ । तर वर्षभरि मुला पाउन त्यति मुस्किल हुँदैन । हिउँदमा त ग्रामीण क्षेत्रका प्रायः हरेक घरमा मुला फलेको हुन्छ । यस्तै शहर बजारमा पनि सस्तो र सुलभ रुपमा पाइन्छ । मुलामा विभिन्न भिटामिन तथा फाइबर हुन्छन् ।

मुलाका केही फाइदाहरु यस्ता छन्,

१) आरबिसीको संरक्षकः मुलाले शरीरमा रहेका राता रक्त कोषलाई मर्नबाट जोगाउँछ । यसले रगतमा अक्सिजनको मात्रा पनि बढाउँछ ।

२) उच्च फाइबरः मुला नियमित रुपमा खाँदा फाइबर उच्च मात्रामा प्राप्त हुन्छ । यस्तै पित्त–रसको उत्पादन बढाउँछ, लिभरको सुरक्षा गर्छ । यसैगरी गाल ब्लाडरको सुरक्षा तथा शरीरमा पानीको मात्रा नियमित गर्नमा पनि यसको भूमिका हुन्छ ।

३) मुटुको संरक्षकः मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइराख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ । जसका कारण कार्डिओभास्कुलर समस्याको जोखिम कम हुन्छ । यस्तै भिटामिन सी, फोलिक एसिडसहित पनि पाइने भएकाले मुला मुटुका लागि उपयुक्त हुन्छ ।

४) रक्तचापलाई नियन्त्रणमा राख्न सहयोगीः मुलाले रगतमा पोटासियमको मात्रा पनि सप्लाइ गर्छ । यसले रक्त चाप कम गर्न सहयोग गर्छ, अर्थात रक्त चाप बढी भएकालाई मुला अति उपयुक्त हुन्छ ।

५) प्रतिरोधात्मक क्षमता बढाउँछः मुलामा हुने भिटामिन सी सहितका तत्वले रुघा खोकीसहितका रोगको संक्रमण कम गर्न सहयोग गर्छ । यसले आधारभूत रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

६) मेटाबोलिजम मैत्रीः जमिनमुनि फल्ने मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसैगरी एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्न सहयोग गर्छ ।

७) छालाका लागि उत्तमः नियमित रुपमा मुला वा मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ । यसमा हुने भिटामिन सी, जिङ्क र फसफोरसका कारण छालाको सुख्खापनलाई नियन्त्रण गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू