अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

कानुनभन्दा माथि व्यक्तिको अनशन हुँदैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ ४ गते ५:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानुन, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संसद्को सर्वोच्चता र संसदीय विधि निर्माणप्रति आफू नतमस्तक रहेको धारणा राख्दै यस्तो बताउनुभएको हो ।

‘आफूले गरेको सहमतिप्रति सरकार प्रतिबद्ध छ, संसद्को सर्वोच्चताको सम्मान गर्दछ, सरकारले सदनलाई आदेश दिन मिल्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘डा केसीको अनशन संसद् र संसदीय सर्वोच्चतासँग जोडिएको प्रश्न हो, संसद्ले कानून निर्माण, सरकार गठन र परिवर्तन गर्न सक्छ, सम्पूर्ण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसदीय सर्वोच्चताप्रति सरकार थिचोमिचो गर्दैन।’

प्रधानमन्त्री ओलीले सम्झौता भनेको सत्यनिरुपण नभएर तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गरिएको सम्झौता मात्रै भएको तर सरकार सझौताप्रति प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । संसद्लाई यसो गर भनेर आदेश दिन सरकारले सक्दैन प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हरेकले आफ्ना सीमा, कानुनी राज्य र कानुन पालनाको कुरालाई मान्नुपर्छ, हामी सबै संविधान, कानुन र विधिको प्रक्रिया भित्र छौँ। प्रणाली र प्रक्रियाभन्दा बाहिर गएर आफूलाई ‘सुप्रिम’ छु भनेर भन्न कसैले मिल्दैन।’

प्रधानमन्त्री ओलीले नेकपाका सांसद प्रभु साहको जिज्ञासाको जवाफ दिँदै बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपद्का समस्यामा परेका जनताका आवास निर्माण र राहत उपलब्ध गराउने विषयमा सरकारले प्राथमिकीकरण गरेर काम गर्ने बताउनुभयो । ‘यो सरकार जनता र मुलुकका लागि हो, समस्यामा परेका जनतालाई यो सरकारले हेर्छ र काम गर्छ। राहत र आवास निर्माणमा बालबालिका, सुत्केरी, विपन्नलाई प्राथमिकता दिनुपर्छ’, उहाँले भन्नुभयो , ‘जनता आवास कार्यक्रम अघि बढाउने सन्दर्भमा प्राकृतिक विपत्तिमा भएको क्षतिको स्थानमा आवास बनाउन ध्यान दिइनेछ।’

प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेका सांसद दीलेन्द्रप्रसाद बडुको प्रश्नको जवाफमा स्वीस बैंकमा नेपाली नागरिकको पैसा रहेको भन्ने विषय कानुनको अवज्ञा र भ्रष्टाचारसँग जोडिएको विषय भएको बताउनुभयो । उउहाँले भन्नुभयोे, ‘सार्वजनिक सञ्चारमाध्यमबाट आएका विषयलाई सरकारले गम्भीररुपमा लिएर अनुसन्धान गर्नेछ।’

नेकपाका सांसद रेखा शर्माको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न बाँकी कामलाई निष्कर्षमा र्पुयाउन सरकारले सक्रिय र सजगतापूर्वक काम गरिरहेको बताउनुभयो । ‘द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने क्रममा हतियार र लडाकुको व्यवस्थापन शान्तिपूर्ण तवरले सम्पन्न भई निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयका लागि संवैधानिक बाटोबाट अघि बढेका छौँ’, उहाँले भन्नुभयो, ‘सहमतिका आधारमा द्वन्द्वका घाउ र खतमा मलमपट्टी लगाउनेतर्फ हाम्रा साझा कार्यक्रम अघि बढेका छन्।’

अहिले द्वन्द्वको स्थानमा शान्ति स्थापना भएको भन्दै प्रधानमन्त्री ओलीले द्वन्द्वका बाँकी घाउलाई सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू