अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

चुपचाप बिजनेस

सुवास खनाल २०७५ पुष ३० गते १२:३६ मा प्रकाशित

तपाईँ जति बढी बोल्नुहुनेछ
उत्तिकै घाटा व्यहोर्नुहुनेछ

यसो गर्नुहोस्
चुपचाप बिजनेस चलाउनुहोस्

साधारण जनता हो भने
ननिकाल्नु होस् प्रतिरोधी आवाज
बरु
जो विजयी देखिन्छ
तर्कमा
मतमा
उतैपट्टि लर्काउनुहोस् टाउको
नाफैनाफामा हुनुहुनेछ

नेता हुनुहुन्छ भने
नबोक्नु होस् अडान
अलिक मौन आवाजमा –‘हुन्छ ,हुन्छ’ मात्र भन्नुहोस
सकेसम्म टाउको मात्र हल्लाउनुहोस्
फेरी बोल्नु भयो भने
भोलि तपाईँकै वचनले तपाईँलाई पक्रिनेछन्

इतिहासवेत्ता हुनुहुन्छ भने
नखोतल्नुस् पुराना चिहानहरू
भेटिन सक्छ
जबर्जस्ती हत्या भएका सत्यका कङ्कालहरू

प्रशासकहरू
कम बोल्नुहोस्
भलादमी देखिनुहोस्
टेबुलमाथि भन्दा
तलबाट बढी काम गर्नुहोस्
चुपचाप बिजनेस चलाउनुहोस्
मालामाल हुनुहुनेछ

न्याय प्रशासक र व्याख्याताहरू
सबैभन्दा आधिकारिक र सहज ठाउँमा हुनुहुन्छ
चुपचाप बिजनेसका मालिक उत्पादन
यहीँबाट बढी सम्भव छ
चुपचाप बिजनेस चलाउनुहोस्
र मालामाल हुनुहोस्

बिचौलिया हुनुहुन्छ
गौरव बोध गर्नुहोस्
यो तपाईँकै समय हो
समय फर्की–फर्की आइरहेछ
अवसर खेर नफाल्नु होस्
सेकेन्ड –सेकेन्ड प्रयोग गर्नुहोस्

पत्रकारहरू
सबैभन्दा बढी थाहा पाउनुहोस्
र सबैभन्दा कम लेख्नुहोस्
चुपचाप बिजनेस आफैँ चल्नेछ

लेखक, कलाकार
आफ्नो कित्ताले बबन्डर खराबी गरे पनि
सुइँको नपाउनुहोस्
र चुपचाप रहनुहोस्

यो समय बढी बकबक गर्नु ठिक होइन
पटक पटक भन्नुहोस् –‘देश सङ्कटको घडीमा छ’
‘हामी सबै सङ्कटमै छौँ ’
मौन रहनुहोस्
कम बोल्नुहोस्
चुपचाप बिजनेस चलाउनुहोस् ।

प्रतिक्रिया