अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

सात एलबम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्श अभियान सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २२ गते १०:०३ मा प्रकाशित

काठमाडौँ, सात एलबम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्श अभियान सम्पन्न भएको छ । पद्म दीप स्मृति प्रतिष्ठान काठमाडौँको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो । राजधानीमा आज पत्रकार भेटघाट गर्दै विमर्श अभियानका बारेमा गीतकार डा. डीआर उपाध्यय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए । 

एकै दिनमा एकै गीतकारका सात वटा गीति एलबम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए । मङ्सिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो ।

दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्श अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो ।
देशका विभिन्न ठाउँहरूमा आफूहरू पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रस्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले आजको पत्रकार भेटघाटमा बताए । मोफसलमा पनि राम्रा राम्रा प्रतिभा लुकेर बसेको आफूले ती ती स्थानहरूमा पुग्दा पाएको शुरेश घिमिरेले बताए । उनले भने– ‘झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरियो ।’ पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन सञ्चारकर्मी लिलप्रकाश चन्दले गरेका थिए । गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सात वटा एल्बलमा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक/गायिकाहरूले स्वर दिएका छन् ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एलबम प्रकाशनमा एकै पटक सबैभन्दा धेरै एलबम निकालेर नयाँ रेकर्ड राखेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकै पटक सात एलबम विमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एलबम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्त राप’, ‘प्रतिदान’ र ‘सहेली’ विमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एलबम ‘प्रणय’ उनको पहिलो एलबम हो ।

केही सामाजिक उपन्यास सहित थप गीति एलबम एक वर्ष भित्र पाठक, श्रोता र दर्शकमाझ ल्याउन लागेको पनि उनले आइतबारको पत्रकार भेट घाटमा जानकारी गराए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू