अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको बताउनुभएको छ । उहाँले त्यसको लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धी सांसदलाई जानकारी पनि गराउनुभयो । बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै उहाँले संसदमा उठेका रंगविरंगी प्रश्नको जवाफ दिनुभन्दा यस आर्थिक वर्षका बजेट र नीति तथा कार्यक्रमका कार्यान्वयनका स्थितिबारे जानकारी दिने बताउनुभएको थियो । उहाँले सरकार भेटिएन भनेर सबैतिर आलोचना भइरहेकाले आफूले सरकारले गरेका केही कामका बारे जानकारी दिन आएको बताउनुभएको थियो । रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेको बताउँदै उहाँले रेल र पानी जाहज चढ्नका लागि केही धैर्य गर्न आग्रह गर्नुभयो ।

सरकार अहिले चालु आर्थिक बर्षको सरकारको नीति÷कार्यक्रम र बजेट कार्यान्वयनको अर्धबार्षिक समीक्षाको क्रममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो काममा सफल वा असफल पनि कामकै कारणले हुने उल्लेख गर्नुभयो । “के हुँदा सफल र के हुँदा असफल भएको ठान्ने, यसलाई जाँच्ने कसी वैज्ञानिक विधिबाट तय गरिएको सूचक हो,’ उहाँले भन्नुभयो, सूचकहरुकै आधारमा नीति/कार्यक्रम तथा बजेटको कार्यान्वन सहि छ या गलत, त्यसको टुङ्गो लाग्ने हो ।”

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको बताउनुभयो ।
यसैगरी, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको, गत वर्षको तुलनामा मूल्य बृद्धि घटेको, गतबर्षको मूल्य बृद्धि ४.२ प्रतिशत रहेकोमा यस वर्ष घटेर ३.७ प्रतिशत मात्र रहेको प्रधानमन्त्रीले जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको बताउनुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली” को सपना देख्नु अपराध नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनको जिम्मा पाएकोले उक्त भिजन लागू गर्ने प्रयत्न गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो । “पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरेको छु ।” प्रधानमन्त्रीले भन्नुभयो, “सरकार के गर्दैछ, पत्तो भएन– प्रश्न उठाइयो । के गर्दैछ भन्ने जवाफ दिन्छु । अनि प्रतिप्रश्न आउँछ– प्रधानमन्त्री किन बोलेको ? बोल्न नहुने रहेछ क्यारे भन्ने ठानेर चुप रहन्छु, प्रश्न उठाईन्छ– खै जवाफ दिएको ? केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खै काम गरेको ?” प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा सहभागी हुन प्रतिपक्षलाई पनि आह्वान गर्दै त्यसका लागि जस्तोसुकै निर्णय गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू