अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

विप्लव–वैद्यसँग एकता गरेर सशस्त्र विद्रोह गर्ने गोपाल किराँतीको चेतावनी

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:३८ मा प्रकाशित

पुनर्गठित नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराँतीले क्रान्तिकारी विचार बोकेका पार्टीहरूसँग सहकार्य गरी सशस्त्र विद्रोह गर्ने चेतावनी दिनुभएको छ । बिहीबार दमकमा पत्रकार सम्मेलन गरी किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवाद सिद्धान्त आत्मसात गरिरहेका क्रान्तिकारी पार्टीहरूबीच चाँडै एकता हुने र सशस्त्र विद्रोह थाल्ने चेतावनी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा किराँतीले आगामी फागुन १ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने बताउनुभयो । किराँतीले आठौं महाधिवेशनलगत्तै माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरूबीच एकता प्रक्रिया अघि बढ्ने र त्यसले सशस्त्र विद्रोह सुरू गर्ने दाबी समेत गर्नुभयो । किराँतीले तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा केही नेताहरू एमालेसँग ‘आत्मसमर्पण’ गरी विलय पथमा अघि बढेका कारण क्रान्तिकारी माओवादी शक्तिहरूबीच एकता गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेता किराँतीले विद्रोहका लागि ढिलो–चाँडो क्रान्तिकारी माओवादीहरूले सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था निम्तिएको पनि दाबी गर्नुभयो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण घोषणालगत्तै माओवादीका नेता किराँतीले असहमति राख्दै नयाँ पार्टी गठन गरेको घोषणा गर्नुभएको थियो । पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने किराँती पार्टीको वैचारिक आन्दोलनमा विगतदेखि नेतृत्वसँग असहमति र फरक विचार राख्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू