अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०० | Colorodo: 21:15

मनराम–एसकाज पत्रकारिता पुरस्कार शाक्यलाई दिने घोषणा

बिआरटीनेपाल २०७५ पुष १८ गते १०:३० मा प्रकाशित

काठमाडौँ । सङ्खुवासभामा लामो समयदेखि निरन्तर पत्रकारितामा संलग्न रहनु भएका दीपेन्द्र शाक्यले यस वर्षको ‘मनराम– एसकाज पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुहुने भएको छ । मनराम प्रतिष्ठान र सङ्खुवासभा काठमाडौँ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले संयुक्तरुपमा स्थापना गरेको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

शाक्य हाल सखुवासभामा रही कान्तिपुर मिडिया ग्रुपका उपसम्पादक र रेडियो सखुवासभाका स्टेसन म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ । विगत डेढ दशकदेखि पत्रकारितामा लागिरहनु भएका शाक्य जुझारु, मेहनती र इमानदार पत्रकारका रूपमा चिनिनुहुन्छ । निरन्तर पत्रकारिता क्षेत्रमा रही सङ्खुवासभा जिल्लाको विकास, निर्माण, राजनीतिक, सामाजिक, पर्यटन, व्यापार व्यवसाय लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएवापत शाक्यलाई उक्त पुरस्कार दिने निर्णय गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिनु भयो ।

शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कार पाउने तेस्रो पत्रकार हुन् । सङ्खुवासभाका पत्रकार गङ्गा विष्टले पहिलो वर्षको र इन्द्र गिरीले दोस्रो वर्षको पुरस्कार पाइसक्नु भएको छ । सङ्खुवासभाका स्व. रामबहादुर श्रेष्ठ र मनमाया श्रेष्ठद्धारा स्थापित शिक्षा तथा सामाजिक क्षेत्रमा कार्यरत संस्था मनराम प्रतिष्ठान हो । पत्रकारको मनोबल बढाउन र सङ्खुवासभाको विषयमा कलम चलाउन उत्प्रेरणा थप्न पाएकोमा प्रतिष्ठानका अध्यक्ष सुजन कुमार श्रेष्ठले एसकाजसँगको सहकार्य अझै अगाडि बढाउँदै जाने बताउनुभएको छ । पुरस्कार आगामी माघ ८ गते मङ्गलवारका दिन काठमाडौँमा प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू