अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

सार्वभौमिकता जोगाउन दलहरुसँग श्री ५ वीरेन्द्रको साझेदारी – कमल थापा

बिआरटीनेपाल २०७५ पुष १४ गते ९:१२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको इतिहासमा राजा पृथ्वीनारायण शाह, राजा महेन्द्र र राजा वीरेन्द्रको शासनकालको उचित मुल्यांकनबाट नै शाह वंशीय राजाहरुको मुल्यांकनको आधार मान्नुपर्ने बताएका छन् । स्व. राजा श्री ५ वीरेन्द्रको शुभजन्मोत्वको अवसरमा नेपाल प्राज्ञिक परिषदद्वारा आयोजित ‘श्री ५ वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र मुलुकको सुरक्षा कवचको रुपमा अघि सारेको शान्ति क्षेत्रको प्रस्तावले समग्र देश र जनताप्रतिको उत्तरदायित्वको पुष्टि भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव राख्नु, २०४६ को जनआन्दोलन ताका विदेशीले ल्याएको राष्ट्रघाती सन्धिको प्रस्तावलाई ठाडै अस्वीकार गरि देशभित्रका राजनीतिक दलहरुसँग सम्झौता गरेर बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नु लगायतका दुरदर्शी सोचका साथ देशको बृहत्तर हितका लागि स्व. वीरेन्द्रबाट भएका कार्यहरु अविष्मरणीय रहेको विचार व्यक्त गर्नुभयो । तत्कालीन अवस्थामा राष्ट्रिय सुरक्षा तथा प्राकृतिक सम्पदामाथि संकुचन हुने भारतको प्रस्तावलाई श्री ५ वीरेन्द्रबाट स्वीकार भएको भए आज हामी ‘नेपाली हौं’ भनेर शीर ठाडो पार्नसक्ने हैसियत सम्म हुँदैनथ्यो भन्दै अध्यक्ष थापाले मुलुकको स्वधीनता, सार्वभौम सत्ता र स्वतन्त्रता प्रति चिन्तित स्व. वीरेन्द्रबाट मुलुकमै क्रियाशील राजनीतिक दलहरुसँग वार्ता गरि बहुदलीय व्यवस्था पुनस्र्थापना गरेर जनभावनाको कदर गरेको ईतिहासको स्मरण गर्नुभयो ।

२०४६ सालको जनआन्दोलनको समयमा भारतले लगाएको आर्थिक नाकाबन्दीताका स्व. राजा वीरेन्द्रले तत्कालीन मन्त्रीपरिषदलाई ‘कम्तीमा ३ महिनासम्म पुग्ने अत्यावश्यक सामग्रीको भण्डारण गर्न, नुन तेल जस्ता भारतबाट मात्र आयात हुने सामग्रीहरुलाई अन्यत्रबाट ल्याउन समेत पहल गर्न’ भएको निर्देशनको स्मरण गर्दै अध्यक्ष थापाले सोही अनुसार २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा आफ्नै पहलमा चीनसँग व्यापार तथा पारवहन सन्धी गरेको स्पष्ट पार्नुभयो ।
नेपालको इतिहासमा दुरगामी सोच राखेर शासन सत्ता सञ्चालन गर्ने श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रको राष्ट्रवादी चिन्तनको जती व्याख्या गरे पनि अपुरो रहने विचार व्यक्त गर्दै यस्ता राष्ट्रवादी व्यक्तित्वहरुको वर्षमा १ दिन पनि सम्झना गर्न राजनीतिक दलहरुले तदारुकता नदेखाएकोप्रति थापाले दुःख व्यक्त गर्नुभयो । पूर्व उपप्रधानमन्त्री थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते लाई राष्ट्रिय एकता दिवसको रुपमा मान्यता दिई सो दिन सार्वजनिक बिदा दिन समेत सरकारसँग जोडदार माग गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले देश बनाउन र बचाउन श्री ५ पृथ्वी नारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रबाट भएका कार्यहरुको बयान शब्दमा गर्न नसकिने बताउनुभयो । उहाँहरुले आफूलाई राजाभन्दा माथि उभ्याएर देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डताको संरक्षण गर्न अहम् भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । २०४६ जनआन्दोलनको क्रममा श्री ५ वीरेन्द्रबाट जनभावना अनुरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापना गरेर उच्च कार्य भएको स्मरण गर्दै मैनालीले घुमाउरो भाषामा ०६२/६३ को आन्दोलनको माग राजसंस्था हटाउने भन्ने नरहेको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले स्व. राजा वीरेन्द्र जनचाहना अनुसार अगाडी बढ्ने, प्रजातन्त्रवादी राजा भएको चर्चा गर्नुभयो । कार्यक्रममा अ.प्रा. उपरथी टिका धमला, डा. निश्चलनाथ पाण्डे लगायतले स्व. श्री ५ वीरेन्द्रको वहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू