अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

अब नेपालको विकास गर्न के ले रोक्यो नेताज्यू ?

नेताहरू चप्पलबाट सुटसँग मिल्ने बुटको मेसो मिलाउँदा मिलाउँदै झुपडीबाट आलीशान बङ्गलाको जोहो मिलाउन तिर फड्को मार्दै

राम लामा अविनाशी २०७५ कार्तिक १६ गते १९:०२ मा प्रकाशित

दुई विकसित विशाल देशहरू भारत र चीनको बिचमा रहेको हाम्रो सानो देश नेपाल । ५६, ८२७ बर्गमिल क्षेत्रफल ओगटेको सानो देशमा करिब ३ करोड जनसङ्ख्या रहेको देश । यी मध्य हरेक दिन करिब १५०० जना वैदेशिक रोजगारका लागि उड्न विवश निरीह हामी युवाहरूको जन्मथलो ।

विश्वको ठुलो जलश्र्वोतको धनी देश, विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य हिमाली शृङ्खलाले ढाकेको सुन्दर देश । अमृत जन्य विभिन्न जडीबुटी उम्रने देश । कोइला, तेल, सुन जस्ता महत्त्वपूर्ण अन्य खनिज तत्त्वहरू रहेको भनिएको देश ।

भगवान् श्री शिवजीको महत्त्वपूर्ण पीठ मानिने पशुपति नाथ भएको देश । जहाँ विश्व भरिका सनातन धर्मालम्बीहरुको आफ्नो मृत्यु पूर्व दर्शनार्थ् त्यहा पुग्ने ईच्छा रहन्छ । अनन्त मन्त्रहरू भएको वेदलाई संक्षिप्तिकरण गरी लेख्ने वेदव्यास तथा रामायण लेख्ने वाल्मीकि जस्ता ऋषिहरूले तपस्या गरेको तपोभुमी ।

विश्व भरी द्रुत गतिमा फैलीई रहेको शान्तिका दूत भगवान् श्री गौतम बुद्धको जन्मस्थल । विश्वयुद्ध विजयी गोर्खाहरू जन्मिएको वीरताको माटो रहेको देश । के यी सबै श्रोतहरुलाई उपयोग, संवर्धन र प्रवर्धन गरेर देश विकास हुन सक्दैन र ?

“काम कुरो एकातिर पोको बोकी ठिमी तिर” भने झैँ देश अन्य कुराहरूमा अल्मलीइरहेको छ । देश विकासको प्रचुर सम्भावना रहेको हाम्रो मुलुकका करिब ५० लाख युवाहरू वैदेशिक रोजगारमा हड्डी घोटेर पसिना चुहाई रहेका छन् ।

प्रतिनिधि सभाका २७५ जना र राष्ट्रिय सभाका ५९ सभासदहरु, करिब एक लाख प्रहरी, करिब ९५ हजार सैनिक र करिब २ लाख सरकारी कर्मचारीहरूको घर परिवारको सहारा यही परदेशमा रगत पसिनासँग साटेर पठाएको रेमिट्यान्स बनेको छ । त्यही वैदेशिक रोजगारलाई पनि अलि बढी व्यवस्थित र सहज बनाउन तिर सरकारले उल्लेख्य कसरत गरेको देखिँदैन ।

ठुला-ठुला सम्मेलनहरूले नेपालको हितका धेरै निर्णयहरू गरेकै हो नि । २०१४ मा १८ औँ सार्क सम्मेलन काठमाण्डौमा भयो । नेपालको शान्ति सुरक्षा सुधार्ने चासोलाई जोड दिइयो । २०१६ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलन भयो । जसले नेपालमा १४ खरब रुपैयाँ लगानीको प्रतिबद्धता आयो । हालै २०१८ मा बिमश्टेकको चौथो सम्मेलन काठमाण्डौमा भयो । जसले बिमस्टेक सदस्य राष्ट्रहरूका बिचमा विद्युतीय प्रसारण लाइनको जडान गरिने कुरामा सहमति भयो ।

त्यतिका ठुला-ठुला सम्मेलनहरूमा राष्ट्रको ढुकुटीको ठुलो धनराशि सिद्धियो । त्यति राम्रा र महत्त्वपूर्ण निर्णयहरू पनि भए तर कार्यन्वयन खोइ त नेताज्यू ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा गरिएको खर्चले त तब सार्थकता पाउँछ जब त्यसले गरिएका निर्णयहरूलाई लागु गर्न सकिन्छ ।

व्यापारिक पारवहनका लागि भारतीय नाकामा मात्र भर पर्नु पर्दा बेला बेलामा अड्चन खेप्नु नेपालको बाध्यता हो । यो अवस्थाको अन्त होस भनी चाइनाले सात वटा नाका खोली दियो । तर नेपालले ती नाकाहरू सम्मको पहुँच हुने पूर्वाधार बनाउन सकेको छैन ।

नेपालमा गएको महाप्रलयकारी भूकम्पले पीडित जनताका लागि धुर्मुस सुन्तली फाउण्डेसनले पालै-पालो ३ ठाउँको बस्ती हस्तान्तरण गरी सक्यो । तर राष्ट्रिय र अन्तर्राष्ट्रियदाताहरूबाट ओइरिएको रकम प्रधानमन्त्री राहत कोष भित्रै रुमलिईरहेको छ ।

सोही महाभूकम्पका कारण अलपत्र परेका नेपाली जनताले रोजगारी पाउन् भनी अमेरिकाले नेपालमा बनेर आउने तयारी पोसाक र अन्य केही गरी ७७ क्याटगरिका सामानलाई भन्सार छुटको सुविधा दियो । जुन सुविधा १० वर्षका लागि दिइएको छ । २ वर्ष हुन लागि सक्दा पनि सो सुविधाको उपयोग हुन सकेको छैन । कतिपय नेपाली ब्यापारीहरुनै यस विषयमा पूर्ण जानकार छैनन् ।

यसको बारेमा नत, अमेरिका स्थित राजदूतावासले एक कार्यक्रमको आयोजना गरी नेपालबाट आयात गर्ने व्यक्ति वा कम्पनीलाई जानकारी गरायो नत, हरेक समारोहमा गजक्क फुलेर खादा ओढेर मञ्चमा आसीन हुने वाणिज्यदुत या महावाणिज्यदुतहरुले नै गरे । हुन त, त्यो सुविधामा के के पर्छन् र सुविधा कसरी उपयोग गर्न सकिन्छ भन्ने अधिकांश वाणिज्यदूतहरूलाई थाहा नहुनु स्वाभाविकै हो । किनभने उक्त ओहोदाहरू योग्यता र अनुभवको आधारमा नभएर चाप्लुसी र पैसाको भरमा दिइने गरेको कुरा थाहा नपाउने नेपाली कमै होलान् ।

करिब एक वर्ष अगाडि पनि नेपालको सडक र विद्युतीय लाइनको सुधारको लागि अमेरिकाले ५०० मिलियन अमेरिकी डलर दिने भएको थियो । अमेरिकी फ्ल्यागसिप मिलेमियम च्यालेन्ज कर्पोरेसन (एम् सी सी) मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो । नेपाललाई माया गर्ने अन्य विदेशी राष्ट्रहरूको पनि सहयोगको प्रतिबद्धताको ओहिरो लागेको छ । तर पनि सरकार निकम्बा छ ।

देशले प्रजातन्त्र पाएपछि जनताका अपेक्षा धेरै थिए । तर नेताहरू चप्पलबाट सुटसँग मिल्ने बुटको मेसो मिलाउँदा मिलाउँदै झुपडीबाट आलीशान बङ्गलाको जोहो मिलाउन तिर फड्को मार्दै छन् । हामी जनता भने पुर्ख्यौली घर खेत बेच्दै बिदेसिंई रहेका छौँ । हामी मध्यबाटै परदेशको कष्ट सहन नसकी केहीले प्राण त्यागी सकेका छौ । हरेक दिन जसो मृत शरीर बाकसमा प्याक भएर आफ्नो प्यारो जन्मभूमिमा अवतरण हुन्छ ।

हुंनत, राजनीति मात्र देश विकासमा बाधक होइन । नेपालको प्रशासन तन्त्र भित्र भ्रष्टाचारको संयन्त्र सदियौं देखी सक्रिय छ । राजनैतिक नेताहरू त त्यो सञ्जालमा फसेका मात्र हुन् । यस जालमा त्यस्ता नेताहरू सजिलै फस्छन् जसले चुनावमा ठुलो धन राशि खर्च गरी चुनाव जितेका हुन्छन् । सदियौं देखि जरो गढेको यो सञ्जाल सजिलै तोडिन सम्भव रहेनछ । त्यसैले त कुलमान घिसिङ र रमेश खरेलले पनि थकाई मारे ।

नेपाली राजनीति र प्रशासन तन्त्र दुवैमा सच्चा देश भक्त योद्धाहरू नभएका होइनन् भन्ने कुराका हुँदाहरणहरु अरू पनि कैयौँ हुनुहुन्छ । परदेश बाटै भए पनि सलामा छ उहाँहरूलाई । त्यस्ता नेता तथा कर्मचारीहरू अहिले अल्पमतमा हुनुहुन्छ । एक दिन त्यस्तै सच्चा देश प्रेमीहरूको बहुमत हुनेछ । अहिलेका देशद्रोही र भ्रष्टाचारी अल्पमतमा पर्नेछन् । अनि भारतमा लालु यादव जस्ता नेताहरूको झैँ नेपालमा पनि पत्ता साफ हुनेछ ।

अब हामीले त्यही दिनको प्रतीक्षा गर्दै हरेक दिन कोही न कोही र कुनै न कुनै देशबाट काम गर्दा गर्दै देह त्याग गरेका साथीहरूको लास गन्दै बस्ने हो ? या खाडी मुलुकमा आफ्नै रोजगारदाताले बलात्कार पश्चात् हत्या गरिएकी चेलीको लास गन्दै बस्ने हो ?

जहानिया निरङ्कुश तानासाही शासनले गर्दा जनताको र देशको विकास हुन नसकेको हो भने नेताले हामीले पत्यायौँ । २०३६ सालमा पञ्चेका झ्यालमा ढुङ्गा हान्दा सड्किएका पाखुरा र प्रहरीको अश्रु ग्यासबाट बाँच्न भाग्दा लडेर भाँचिएको खुट्टा अहिले परदेशमा भारी उचाल्दा बल्झिन्छ ।

बहुदल आएपछि त हाई सुक्ख दिन्छ सरकारले जस्तो लाग्यो । राज्य हडप्नु पर्छ अनि सबै जनताले बराबर बाँडेर लिने हो भने नेताहरूले । सकी नसकी जन आन्दोलनमा हुम्मियौं । सामन्तलाई सफाय गर्ने उर्दी भयो, पालना गरियो । सँगै लड्दै गरेको साथीहरू पुलिसको गोली लागेर छट्पटिंदै थिए । छोडेर अगि बढ भन्ने कमाण्डरको आदेश भयो । रसाएका आँखा पुछ्दै अघि बढियो । राजा फ्याल्नु पर्छ अनि सबै जनता राजा जत्तिकै भइन्छ भने नेताले हामीले पत्यायौँ । तर त्यस्तो भन्ने नेताहरू मात्रै पालै पालो राजा भए । पहिलाको भन्दा पनि झन् बढी कठोर राजा भए ।

हडपेको सम्पत्ति सबै सर्वहारालाई वाढिन्छ भन्थे । भन्नेहरूले मात्र बाढे । तर, हामी घर न घाटको भइयो । ऋण खोजेर विदेश भास्सियौं । तैपनि, आफ्नो भन्दा जन्म भूमिकै माया बढी लाग्छ । मिलीजुली सरकार भएकोले देश विकास गर्न सकिएन भने नेताले हामीले पत्याइयो । अब त दुई तिहाइ मतले बहुमतिय सरकार बनेको छ ।

श्रोत र साधन आफ्नै देशमा पर्याप्त छ । वैदेशिक लगानीका प्रतिबद्धता प्रशस्त भएका छन् । विदेशमा रात दिन खटिने बानी परेका परिश्रमी हामी युवाहरू देशलाई चाहिँदा तुरुन्त फर्किन तयार छौँ । अब भन्नु होस, नेपालको विकास गर्न के ले रोक्यो नेताज्यू ?