अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

चारूमतिको कथा

मणि भट्टराई २०७४ पुष २२ गते १८:४९ मा प्रकाशित

कविता

उसको नाम चारूमती थियो
सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि
के लाग्थ्यो र ऊ एक्लैको?
एकाएक चारूमति हराई गाउँबाट
र फूलमाया देखापरी ।

फूलमाया साँच्चिकै फुल जस्तै थिई
सुन्दर, निश्चल, कोमल,
आकर्षक !
तर निरीह
तै पनि,
फूलमाया
फूलमाया हुनुको अर्थमा
फुल जस्तै मुस्कुराई रहन्थी !

फूलमाया,
जाडोमा पनि फुली
गर्मीमा पनि फुली
दिनमा पनि फुली
रातमा पनि फुली
फूलमायाले सोची -‘फुल्नु बाँच्नुको धर्म हो’
र त्यसरी नै बाँचिरही ।

फूलमायालाई
जसले जतिखेर पनि
छुन सक्थ्यो
टिप्न सक्थ्यो
फूलमायाका पत्रपत्रमा दगुरेर
जसले जतिखेर पनि
दौडमा विजय महसुस गर्नसक्थ्यो ।

फुल जस्तै कोमल फूलमायालाई
‘फूलमाया’ हुनुमा कुनै अफसोस लागेन
तर
जुनसुकै बेला
जोसुकैबाट
जतिसुकै बेला लुटिनु पर्दा भने
फूलमाया बेला बेला काँडाको सपना देख्थी !

त्यसो त
गाउँमा बारुदहरू पड्किंदा
बमहरू विस्फोट हुँदा
गोलीहरू नजिकै भएर जाँदा
फूलमायाले पनि मुक्तिको सपना देखेकी हो
फूलमायाले पनि त्यही धुवाँभित्र
स्वतन्त्रताको गीत गाएकी हो
अरूहरू जस्तै
फूलमाया रातारात भागेर
युद्धमा होमिएकी हो ।

युद्ध सकियो –
युद्धमा फूलमायाले
फुलका डालीहरू गुमाएर घर फर्की
यस पटक
कसैले फूलमायालाई ‘फूलमाया’ भनेनन्
बरु ‘चारूमति’ भनेर बोलाए
लाग्यो-
फूलमाया उतै युद्धमा मरी
र सट्टामा-
एकाएक विकलांग भएर देखापरी
हराएकी चारूमती ।

त्यसो त
युद्ध सक्नुसँगै चारूमति
विजयको जुलुससँगै सहर पसी
उसले जुलुसको भीडमा
आफ्ना सपनाहरूको प्रतिच्छाया देखिरही
धेरै पछिसम्म पनि चारूमतीलाई
आफू यो युगको
‘एक योद्धा हुँ’ जस्तो लागिरह्यो
‘एक लडाकू हुँ’ जस्तो लागिरह्यो
न्याय र स्वतन्त्रताको निम्ति बलेको
‘क्रान्तिको एक राँको हुँ’ जस्तो भइरह्यो ।

एकसाँझ चारूमती धेरै बेर रोइरही
उसलाई –
घरी युद्धमा होमिएकोमा पश्चाताप भयो
घरी ‘बरु त युद्धमै मरेको भए हुने’ -भइरह्यो
घरी ऊ
आफू पुन: ‘चारूमती’ भएकोमा
रुँदै हाँस्दै -हाँस्दै रुँदै गरिरही
तै पनि –
जब जब ऊ भोको पेट लिएर सडकमा निस्कन्छे
उसलाई फूलमायाको न्यास्रो लागेर आउँछ ।

उसले भर्खर यो बुझेकी छ कि –
उसले जङ्गलबाट पड्काएका बन्दुकहरूले
उसले बाटामा थापेका एम्बुसहरूले
भत्कनु त के
अलिकति पनि चर्किएका रहेनछन्
यो देशका
कन्क्रिट जस्ता असमानताका पर्खालहरू !

हात पसार्नको निम्ति चारूमतिसँग उसका हातै छैनन्
युद्धले उसलाई दिएको स्वाभिमान भनेको यत्ति हो
उपहार भनौ कि कृपा – बस् यत्ति हो
यो देश पुरै बुझेकी चारूमती
बौलाही जस्तो भएर सडकका रेलिंगहरूमा
अझै फूलमायाको थोत्रो छाती बोकेर ढल्कएकी छ
कृपया !
युद्धमा नमरेर
अझै कोही सग्लो क्रान्तिकारी बँचेको छ भने
हाँकीहाँकी आउन नसके
भूमिगत नै भएर आओस्
र यो मध्येरातको चिसोमा
यो सडकबाट उठाएर लैजाओस्
यो चारूमतीलाई ।