अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

पार्टीमा अन्तरविरोध खडा गर्ने र भाँजो हाल्ने षड्यन्त्र– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:४६ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने वताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने र भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने वताउनुभएको हो ।

बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्ने समेत वताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड पनि दिनुभयो । सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै उहाँले अब यो एकता कहिल्यै विभाजित नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको वताउनुभयो । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमति समेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो । अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको वताउनुभयो । जनयुद्ध ताकादेखि शान्ति प्रक्रिया सम्म बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको प्रचण्डले उल्ल्ेख गर्नुभयो ।

कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्र निष्ठावान् नेता भएकाले उहाँले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने वताउनुभयो । नुवाकोटका बोगटीको वि. सं २०७१ साल भदौ ३० गते हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका बोगटी ऊर्जामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र माओवादी केन्द्रको संसदीय दलको नेतासमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू