अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

विश्व संस्कृत दिवस सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ ११ गते ९:०२ मा प्रकाशित

जरो किलो प्रतिष्ठान,नेपाल, जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनका दिनमा आयोजकहरू जरो किलो प्रतिष्ठान नेपाल, तृ.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभाग र सह–आयोजक सहृदयता समाज नेपालको संयुक्त आयोजनामा भाद्र १० गते विश्व भाषा क्याम्पसमा विश्व संस्कृत दिवस सम्पन्न गरियो ।यस समारोहको अध्यक्षता जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष डा. निर्मल मणि अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन त्रिचन्द्र क्याम्पस दर्शन विभागका प्राध्यापक डा. गोबिन्दशरण उपाध्यायले गर्नु भएको थियो । उपस्थित विद्वत्जन तथा महानुभावहरूको स्वागत विश्व भाषा क्याम्पस संस्कृत विभागका प्राध्यापक डा. सुबोध शुक्लले गर्नु भएको थियो ।

कार्यक्रममा स्वस्तीवाचन पश्चात् नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाद्धारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । तत्पश्चात् राष्ट्रिय गान गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशीनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा.नारायण प्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतका महानुभावहरूले आ–आफ्ना सारगर्भित मन्तव्यहरू दिनुभएको थियो ।

अन्तमा कार्यक्रमका सभाध्यक्ष डा.निर्मलामणिले सम्बोधन गर्दै प्राचिनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्त्व बढ्दै गएको भएता पनि यसको उद्गम स्थल नेपालमा भने यसको त्यति धेरै विकास गर्न नसकिएको वर्तमान परिवेशलाई हामी सम्पूर्ण संस्कृत प्रेमीहरूले नै यसको संरक्षण सम्वर्धन विकास गर्नु परेको छ । यस बखत यो कसले गर्ला भनेर मुखामुख गर्नु भन्दा पनि स्वक्रियात्मकताका यसको पुनरुत्थानकालागि अघि बढ्नु परेको छ । यसका लागि सम्पूर्ण व्यक्ति तथा संस्थाहरूको सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको छ भन्ने उद्गारका साथ सभा विसर्जन गर्नु भएको थियो ।

विश्वसंस्कृतदिवस पहिलो पटक नेपालमा मनाएको थियो र जरो किलो प्रतिष्ठान नेपालले विश्वसंस्कृतदिवस लाई निरन्तरता दिने जरो किलो महाअभियानका सदस्य धिरेन्द्र चन्द सोडारीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू