अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

आज जनैपूर्णिमा,धुमधामका साथ मनाईयो

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:३५ मा प्रकाशित

आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाईएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ । आजको दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ ।
दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँध्ने समेत चलन छ । त्यस्तै स्नान गरी ब्राह्मणले मन्त्रेको जनै पनि लगाउने चलन छ । रक्षा बन्धन तथा मन्त्रोचरणसहति जनै लगाएमा रोगव्याध नलाग्ने सामाजिक मान्यता रहिआएको छ । जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षावन्धन बाँध्ने गरिन्छ ।

शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको हो ।

जनैपूर्णिमाको दिन तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् । आजको दिन रातो, पहेंलो रंगको डोरा नाडीमा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, चना, सिमी, बोडी लगायत ९ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने प्रचलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

जनैपूर्णिमाको अवसरमा आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पोखराको विन्ध्यवासिनी, गुप्तेश्वर महादेव, केदारेश्वर महादेव मणि, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत धार्मिक क्षेत्रमा श्रद्धालु भक्तजनको घुईंचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू