अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

अनेसासमा अध्यक्षमा लेकाली, महासचिवमा खनाल, अमेरिका उपाध्यक्षमा नेपाल र सचिवमा सुबेदीको उम्मेदवारी

बिआरटीनेपाल २०७५ साउन २८ गते २२:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय समितिको निर्वाचन अगस्त २२ देखी २४ तारिख सम्म हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय समितिको निर्वाचन यही अगस्त २२ तारिख देखी २४ तारिख सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संसार भरी रहेका, प्रमाणित भएका करिब एक हजार एक सय भन्दा बढी आजीवन सदस्यहरूले अनलाइनबाट गरिने मतदान मार्फत नयाँ नेतृत्व छान्नेछन् ।

अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र वर्तमान महा-सचिव गोवर्द्धन पूजाका बिचमा प्रतिस्पर्धा हुने भएको छ भने महा-सचिव पदमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल र अस्ट्रेलियाका गणेश घिमिरेका बिचमा प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी अमेरिका उपाध्यक्षमा वर्तमान उपाध्यक्ष प्रकाश नेपाल र वर्तमान कोषाध्यक्ष शान्तिराम ढकालका बिचमा र सचिवमा बोस्टन च्याप्टर अध्यक्ष लाल गोपाल सुबेदी र राजकुमार पुडासैनीका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला, अस्ट्रेलिया उपाध्यक्षमा भीमसेन सापकोटा, युरोप उपाध्यक्षमा सुनिल सुगम, एसिया उपाध्यक्षमा निशा अर्याल, कोषाध्यक्षमा विकास विष्ट निर्विरोध भैसक्नुभएको छ तर निर्वाचन समितिबाट आधिकारिक रूपमा घोषणा हुन बाँकी नै छ । सदस्यहरू पनि निर्विरोध हुने सम्भावना बढी छ ।

निर्वाचनमा खडा भएका विभिन्न ३ वटा समूहलाई एक गरी सर्व सम्मत रूपमा सबै पदमा निर्विरोध बनाउँदै अनेसासलाई सबैको अनेसास, राम्रो र सबल अनेसास बनाउन पहल मात्र भएन । केही दिन अघि तीन वटै पक्षका चरण चरणका कल कन्फरेन्स बैठकहरू पनि सम्पन्न भए । यति सम्म कि अध्यक्ष, महा-सचिव पद देखी सबै पदमा निर्विरोधको वातावरण बन्यो तर एकादुई व्यक्तिको चरम महत्वाकाँक्षाका कारण सर्व सम्मती र निर्विरोध वातावरण धमिलियो । एकाएक सहमतिबाट गोवर्द्धन पूजा पछाडि हटेपछि फरक फरक ढङ्गबाट उम्मेदवारी घोषणा हुँदै गएको हो ।

अगस्त १२ तारिख उम्मेदवारी दर्ताको अन्तिम दिन अध्यक्ष, अमेरिका उपाध्यक्ष, महा-सचिव र सचिव चार पदमा दुवै समूहबाट अलग अलग उम्मेदवारी दर्ता भए पनि अझै पनि उम्मेदवारले नाम फिर्ता लिने समय बाँकी भएकाले निर्विरोध हुने सम्भावना भने टरेको छैन ।

यदि निर्वाचन भएमा सबै भन्दा बढी आजीवन सदस्य/मतदाता भएको वाशिङटन डिसी मेट्रो कमिटी र नेपाल शाखाको निर्णायक भूमिका देखिन्छ । तसर्थ अध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिवमा लाल गोपाल सुबेदीको जित सुनिश्चित जस्तै देखिन्छ ।

लेकाली, खनाल, नेपाल र सुबेदीलाई अनेसासका विश्वभर छरिएर रहेका प्राय सबै शाखाहरूको समर्थन रहेको छ भने केन्द्रीय समिति, बोर्ड अफ ट्रस्टिज, सल्लाहकार, संस्थापकहरू र आजीवन सदस्यहरूको ठुलो हिस्साको साथ र सहयोग हुने देखिएको छ । त्यसैले अत्यधिक मतका साथ लेकाली, खनाल, नेपाल र सुबेदी विजयी हुने सम्भावना सर्वेक्षणहरूले देखाएका छन् ।

निर्वाचनमा सबैलाई मिलाएर जाने प्रयास गरियो तर अन्तिम अवस्थामा सबै पदमा निर्विरोध गराउने प्रयास सफल हुन सकेन भन्दै आफूहरूलाई निर्वाचनमा सहयोग गर्न अध्यक्ष उम्मेदवार राधेश्याम लेकालीले सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

महासचिव उम्मेदवार राम प्रसाद खनालले “म जहाँ रहुन्-सबैभन्दा पहिला नेपाली हुँ । नेपाली भाषा, साहित्य, गीत, सङ्गीत, कला र संस्कृतिको जगेर्ना र विकास मेरो धर्म हो, मेरो कर्म हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा सबैलाई समेटेर, राम्रो र सर्व सम्मत केन्द्रीय कार्य समिति बनाउने मेरो र साथीहरूको प्रयास एकादुई साथीहरूको असहयोगका कारण पूर्ण सफल हुन सकेन । सम्पूर्ण पदमा निर्विरोध र सर्व सम्मत भएको अवस्था अन्तिममा आएर नुहाउने साथीहरूलाई पनि हाम्रो आग्रह छ – मित्रहरू स्वस्थ ढङ्गले चुनावमा प्रतिस्पर्धा गरौँ अब । कोही कसै प्रति हाम्रो वाशिङटन डिसी मेट्रो कमिटी र म बायस छैन, हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दछौँ र हाम्रो प्रतिबद्धता अनुसार अनेसासलाई सबैको अनेसास बनाउन कुनै कसर बाँकी राखिने छैन । न त कसैलाई काखा, न त पाखा गरिने छ । सबैको, सबल अनेसास बनाउन हाम्रो प्रयास हुने छ । महा-सचिव पदमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउँदै साथ र सहयोगका लागि सबैसँग आग्रह गर्दछु” भन्नुभएको छ ।

खनालले आफूहरू बिचमा सहमति र सहकार्य भएको भन्दै अध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा आफू रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिवमा लाल गोपाल सुबेदीलाई समेत मत माग्दै सबै सँग सहयोगको आह्वान गर्नुभएको छ ।

“हालको विधान अनुसार केन्द्रीय समितिमा जम्मा १२ जना मात्र रहने व्यवस्था भएकोले सबै देश, शाखा, साथीहरूलाई अहिले नै समेट्न सकिएन तर विश्वास गर्नुस् – हामी निर्वाचित भए लगत्तै तुरुन्तै विशेष निर्णय र व्यवस्था गरेर छुट हुनुभएका साथीहरू, शाखाहरू सबैलाई सके सम्म समेट्न कुनै कसर बाँकी राखिने छैन । यसो गर्छु, त्यसो गर्छु भनेर म लामो घोषणा-पत्र जारी गर्ने होइन निर्वाचित भए पछि सबैलाई समेट्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना र विकासका लागि अहिलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लाई “हाम्रो अनेसास, राम्रो अनेसास” बनाउन हर सम्भव प्रयास गरिने छ” भन्दै महासचिव उम्मेदवार रामप्रसाद खनालले “अनेसासका सम्पूर्ण आजीवन सदस्य अग्रजहरू, मित्रहरू, संस्थापकहरू देखी सबैलाई साथ र सहयोगका लागि विनम्रता पूर्वक अनुरोध गर्दछु । मेरो यो अनेसास सबल बनाउने प्रयासमा साथ दिने हरेक हरेक अग्रज र साथीहरू प्रति म नमन गर्न चाहन्छु । तपाईँ हामी सबैको जय होस । अनेसासको जय होस” खनालले भन्नुभएको छ ।

स्मरण रहोस् – सहमति र सहकार्य गरी जाने भए पछि अर्की अध्यक्ष उउम्मेदवार भारती गौतमले निर्वाचनबाट आफू पछि हटेको घोषणा गर्नुभएको छ । वहाँले भन्नुभएको छ – “साहित्यिक संस्थाहरूमा राजनीति र त्यस प्रकारको वातावरण हुनु हुँदैन भन्ने मेरो मान्यता हो। त्यसो हुँदा हुँदै पनि अनेसासको वर्तमान प्रवृत्ति र त्यसभित्रका केही अव्यवस्थाहरू बारे साहित्य प्रेमी र अनेसासप्रति आस्था राख्नेहरूको ध्यान आकर्षण गराउने आवाजको प्रतिनिधित्व गर्दै मैले उम्मेदवारी दिएकी थिएँ। थाहा छैन यो आवाज कति सम्म सुनियो। केन्द्रीय समितिका कुनै पदमा नरहि पनि संस्था प्रतिको आस्था र यसको गरिमा बढाउने तर्फ मेरो सद्भाव र सेवा निरन्तर नै रहने छ।

आफैँसँगको चिन्तन मनन एवं मेरा धेरै निकटका साथीसंगी र अग्रजहरू को सल्लाहको आदर गर्दै उम्मेदवारको मेरो यात्रा यही समाप्त गर्छु। यस बिचमा मलाई साथ दिने सबै प्रति कृतज्ञता व्यक्त गर्दै मेरो यो निर्णय वाट कसैलाई कुनै गुनासो छ भने म विनम्र क्षमा याचना गर्छु। अनेसासलाई जसले नेतृत्व गरे पनि संस्थामा अहिले सम्म देखिएका अनि देखिन बाकी सबै त्रुटिहरू सम्हालिँदै जाने छन् भन्ने मेरो आशा छ।” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू