अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

वाइडबडी जहाज खरिद प्रकरणबारे सूक्ष्म ढंगले अनुसन्धान हुँदैछ– मन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:३४ मा प्रकाशित

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उहाँले मन्त्रालय मातहतका कार्य प्रगतिबारे सदनलाई जानकारी गराउनुभएको हो । मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ, भैरहवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति तथा सम्पदा पुनर्निर्माण लगायतका विषयबारे सदनलाई जानकारी गराउनुभएको थियो ।

नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारीता बढ्दै गएको पनि उहाँले दाबी गर्नुभएको छ । वाइडबडी जहाज खरिद प्रक्रियाका बारेमा सदन र सदनबाहिर पनि विभिन्न प्रश्न उठेको भन्दै मन्त्री अधिकारीले त्यसबारे मन्त्रालयले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको जानकारी गराउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण गरी २४ सै घण्टा सञ्चालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी समेत दिनुभएको छ ।

वर्षात्पछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरू गरिने र सो सम्पन्न भए लगत्तै सन् २०१९ को फेव«ुअरीको दोस्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण बन्द गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरू गरिने मन्त्री अधिकारीको भनाई थियो । अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन स्वीकृत भइसकेको र दुई हप्ताभित्र मोडालिटी पनि तय हुने वताउनुभयो ।

पोखरा विमानस्थलका लागि भने आवश्यक भएमात्रै बाँकी जग्गा अधिग्रहण गरिने मन्त्री अधिकारीको भनाई थियो । मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धी संसदबाट पास भइसकेपछि विदेशी र स्वदेशीबीच बीमा रकममा विभेद नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू