अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

प्रधानमन्त्री निवास अगाडिबाट ३१ जना अधिकारकर्मीहरू गिरफ्तार

बिआरटीनेपाल २०७५ असार ३० गते ६:४० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरू विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरूलाई गिरफ्तार गरेको छ ।  २०७५ असार ३० गते दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरू जगन्नाथ पुडासैनी, बाबुराम न्यौपाने, अञ्जना अर्याल, विपी पौडेल सदस्यहरू सनत आचार्य, सरस्वती ढकाल, दिवाकर सिलवाल, गोकर्णमणी पुडासैनी, ईश्वर पुडासैनी, गोकुल पुडासैनी, सुरज बोहरा, रेजीना राई, किरण ढकाल, भगवान् पुडासैनी, दुर्गा राना पुडासैनी, टिकाराम पौडेल, टङ्क गैरे, रमेश बराल, अर्जुन लामिछाने, दीपक पुडासैनी र प्रमोद पौडेलसहित ३१ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।  धर्नामा सत्याग्रही भोकै छन्: नेपाली जनता रोएका छन्, ओली सरकारको उपहार: स्वतन्त्रतामाथि प्रहार, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको छ भने न्यायिक निर्णयहरूलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत असार २६ मा प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि पहिलो धर्ना आयोजना गरिएको थियो भने तेस्रो धर्ना असार ३२ गते १ बजे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आयोजना हुदैँछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू