अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७५ असार १४ गते ९:२९ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गर्नुभएको हो ।

भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संवेदनशील हुन आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपितलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाइ कानूनबमोजिम कारवाही गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैँ संवेदनशील भएको बताउँदै विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गरिने स्पष्ट पार्नुभयो । प्रहरी महानिरीक्षक खनालले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको बताउनुभयो ।

छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकामा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै उहाँ अनशन बस्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू