अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम

बिआरटीनेपाल २०७५ असार ९ गते ९:४४ मा प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । 

महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको ‘बाटो बिराएँछु’ कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले जानकारी दिनुभयो ।

पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ ।

प्रथम घोषित कवि बलले नेपाली समाजमा पहिचानको नाममा देखिएको द्वन्द्व, त्यसको व्यवस्थापनका विषय र समसामयिक राष्ट्रिय चासोको विषयमा आफूले कविता सिर्जना गरेकामा त्यो पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो । कवि बल कान्तिपुर दैनिकका पत्रकार पनि हुनुहुन्छ ।

प्रतियोगी कविहरुमा विजयी कवि, कवयित्रीका अलावा सचित राई, दिलु भण्डारी, हीरा भटृ, धर्मानन्द भटृ, सीता भण्डारी कँडेल, गिरि श्रीश मगर, त्रिभूवनचन्द्र वाग्ले लगायत ३६ जना कविले कविता वाचन गर्नुभएको थियो ।

महोत्सवमा कवि वैरागी काँइला, सुलोचना मानन्धर, महेश प्रसाँई, लक्ष्मी माली, रमेश पौडयाल, आरएम डंगोल, विमला तुम्खेवा, बलराम दाहाल लगायत २१ जना अतिथि कविले पनि कविता वाचन गर्नु भएको थियो । विजयी कविहरुलाई उपयुक्त समयमा राष्ट्रपतिबाट पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यसअघि, महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू