अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

गोवर्धन पूजा, अनेसास अध्यक्ष उम्मेदवारको प्रेस वक्तव्य

बिआरटीनेपाल २०७५ असार ५ गते ७:१९ मा प्रकाशित

आदरणीय आजीवन सदस्यज्यू
नमस्कार,

अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि मैले उम्मेदवारी दिएको छु । विगत दुई कार्यकाल मैले महासचिवको रूपमा केही कामहरू गर्ने अवसर पाएँ, तर नेतृत्व तहमा मेरो निर्णायक भूमिका नभएकाले मैले गर्नुपर्ने धेरै कार्यहरू अधुरा नै रहे । त्यसैले अनेसासलाई समय सापेक्ष गति दिँदै यसको स्थापनाको उदेश्यको मूलमर्मलाई आत्मसाथ गर्दै नेपाली साहित्यको विश्वव्यापीकरण अभियानलाई अघि बढाउन केही ठोस कार्य गर्ने अठोटका साथ सहकार्य गर्न यहाँहरूको साथ र हातको लागि हार्दिक अनुरोध गर्दछु ।

र अघिल्लो कार्यकालमा यहाँहरूले अपेक्षा राख्नु भएको केही कार्य मैले पूरा गर्न सकिनँ हुँला, यहाँहरूको चित्त बुझाउन सकिनँ हुँला, यहाँहरू मेरो कार्य गराइप्रति दुखी हुनु भयो होला, यी सबै मानवीय कमजोरी र मेरो कार्य क्षमतामा देखिएको कमीलाई सुधार्दै आगामी दिनमा सामूहिक आवाजको कदर गर्दै कार्य गर्ने प्रतिबद्धताका साथमा क्षमा याचना पनि गर्दछु ।

नेपाली भाषा र साहित्य सिर्जनामा तीनदशक लामो मेरो यात्रा अनेसाससँग सन् २००३ मा वियोगी बुढाथोकीको अध्यक्षतामा गठित नेपाल च्याप्टरको सह-सचिवबाट सुरु भएको हो । अनेसासमा मेरो औपचारिक सहभागिताले ११ वर्ष पूरा गरेको छ ।

सन् २००९ मा अमेरिकाको न्यु योर्क आएपछि यसमा अझ गहिरिएर लाग्ने अवसर मिल्यो । सन् २०१२-२०१४ र २०१६-२०१८ मा मैले महासचिवको भूमिका निर्वाह गर्दा अनेसास भित्रका साना भन्दा साना कुराहरू जान्ने अवसर पाएँ । जसलाई मैले सिक्ने समयका रूपमा लिएको छु,| परिवार ठुलो भएका कारण वैचारिक मतभेद हुनु स्वाभाविक हो । बिचारको मन्थन हुनुपर्छ । बिचार बाझिनु पर्छ र माझिनु पनि पर्छ | हाम्रो परिवारमा पनि समय समयमा यस्ता मत-मन्थनको कामहरू भएका छन् । यसबाट टुटेका मन र छुटेका आफ्नो पनलाई मेरो कार्यकालमा भावनाको “सुपरग्लु”ले जोड्ने प्रयास गर्ने छु | हामीलाई राम्ररी थाहा छ, जब फाटेको मन जोडिन्छ तब झन् बलियो सम्बन्ध बन्छ र फेरि कहिले पनि च्यातिने छैन ।

म नेपाली साहित्य पढेर आएको पाठक हुँ । अहिले झन्डै एक दशकदेखि अमेरिकाको बोस्टनलाई कर्म क्षेत्र बनाएर बसेको छु, यसैले नेपाली साहित्यमा भएका उपलब्धिलाई भूगोल कुनाकुनामा रहेका नेपाली भाषा-भाषी बिच पुर्‍याउन र उनीहरूको भाषा प्रेमलाई नेपालसम्म जोड्न मैले सम्बन्ध सेतुको कम गर्न सक्ने विश्वासका साथ सन् २०१८-२०२०को कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिएको हुँ ।

मलाई थाहा छ, नेपाली साहित्यको केन्द्र नेपाल हो, घरदेश हो । साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न नेपालमा भएका सङ्घ संस्थाहरू तन, मन र बचनले लागि परेका छन् । तर विदेशी भूमिमा अनेसासको भूमिका उजागर गर्ने कार्यमा लागेको अनेसास एउटा महत्त्वपूर्ण संस्था हो । त्यसैले नेपालले यसको नेतृत्व गर्नु भनेको नेपालमा नेपाली राजदूतावास खोलेर राजदूतको नेतृत्व गर्नुजस्तै हो । हो सहकार्य हुनु पर्छ, सम्बन्ध सुमधुर राख्नु पर्छ तर नेतृत्वको सवालमा सही ठाउँ त उपयुक्त व्यक्तिवको चयनले संस्थाको उद्देश्य र औचित्यमा महत्त्वपूर्ण भूमिका खेल्छ | त्यसैले यो कार्यका लागि मेरो उमेद्वारी धेरै हदसम्म उपयुक्त ठानेको छु ।

मैले कमाएको आफन्त र सम्पत्ति भन्नु मेरो तीन दशक लामो साहित्यिक यात्रामा सिर्जना भएका मेरा कृति र तपाईँहरूको मनमा पाएको बास नै हो । यही शक्तिको आडमा तपाईँहरूको मत माग्ने आँट गरेको छु । भनिन्छ “मतदान” एउटा पुण्य दान हो, सही पात्रमा यो दान पर्नाले दान गर्ने व्यक्तिलाई वास्तविक आनन्द पनि मिल्छ, त्यसैले तपाईँलाई यो आनन्दी मिलोस् भन्नेमा म सर्जक छु ।

सबैको हात, अमूल्य साथ र विश्वासका खात लिएर अनेसासलाई साहित्यको सामूहिक चौतारी बनाउने प्रण गर्दै मैले केही योजनाहरू कोरेको छु, जसलाई यहाँहरूको “हैसे”ले मेरो “होस्टे” लाई सहयोग पुग्ने पवित्र विश्वास साँचेको छु ।

अन्त्यमा, साहित्यलाई कमाउने पेसा र संस्थालाई निजी पेवा बनाउने भूल नगर्ने कबुल दोहोर्याउदै अमूल्य मतदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।

भवदीय,
गोवर्धन पूजा
अनेसास अध्यक्ष (२०१८-२०२० ) पदको उम्मेदवार
बोस्टन, अमेरिका

सम्पर्क : ५०८८४०५८७४
फेसबुक :pooja govardhan
email: gpooja1970@gmail.com

प्रतिक्रिया