अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

काव्य उत्सवको तेह्रौं श्रृङ्खला सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ २६ गते १२:४३ मा प्रकाशित

अनेसास नेपाल च्याप्टरको उपसमिति काव्य उत्सव नेपाली वाङ्मयको उदाउदोँ साहित्यिक कार्यक्रम हो । यो कार्यक्रमको उद्धेश्य भनेको नयाँ र स्थापित साहित्यिक स्रष्टाहरूको बिचमा सेतुको काम गर्नु हो भने नेपाली भाषाका साथसाथै राष्ट्रिय भाषा जस्तै नेवारी, भोजपुरी, मैथिली, गुरुङ्ग, थारु लगायतका अन्य भाषा एवम् अन्तर्राष्ट्रिय भाषा हिन्दी, उर्दू, अङ्ग्रेजीमा रचना गरिएका साहित्यिक खुराकहरू वाचन गर्नु पनि हो । त्यस्तैगरि अन्य भाषाभाषीका स्रष्टाहरूको साहित्यिक लेखन र अनुभव एवम् त्यहाँबाट सिक्न सकिने कुराहरूलाई गहिराइसम्म पुगेर छलफल, समीक्षा र विश्लेषणसमेत गरिन्छ काव्य उत्सवका श्रृङ्वखलाहरुमा । स्थापित र देशका होनहार कवि एवम् कवयत्रिहरुका अनुभवका पृष्ठपोषणले नयाँ र उर्जाशिल लेखन गतिविधिहरू थपिदैं जाने र नेपाली वाङ्मयमा स्रष्टाहरूले लेखन र सिर्जनालाई खार्न र उर्बरपार्न काव्य उत्सव जस्ता कार्यक्रम निकै सक्षम र फलदायी हुनेकुरामा विश्वास राख्न सकिन्छ । तसर्थ यो साहित्यको माहौल काठमाण्डौमा मात्रै हैन देशका हरेक कुनाकुनामा हुन जरुरी छ जसले हामी नेपाली भाषा र साहित्यलाई अझ परिष्कृत र धनी बनाउँदै भावी सन्ततिलाई सम्पत्तिका रूपमा हस्तान्तरण गर्न सक्छौ । काव्य श्रृङ्खलाको यो दौरानमा देशका मुर्धन्य र स्वनाम धन्य साहित्यिक नामहरूसँग काव्य उत्सवले आफ्ना श्रृङ्खलालाई जजोल्यमय बनाउने स्वर्णिम मौका पाएको थियो भने अब आउने उत्सवका नयाँ श्रृङ्खलाहरुले पनि यस्तै विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँग नयाँ पुस्ताका स्रष्टाहरूको साक्षात्कार, भलाकुसारी र अनुभवहरू साटासाट गर्ने मौका पाउनेकुरामा काव्य उत्सव परिवार विश्वस्त छ । 

तेह्रौ श्रृङ्खलाको सन्दर्भमा आज २०७५साल जेष्ठ महिनाको २६ गते शनिवार अघिल्ला श्रृङ्खलाहरु जस्तैगरि काव्य उत्सव सम्पन्न भयो । नियमित कार्यक्रम बिहान ११ः३०बजे शुरुभयो भने कार्यक्रममा काव्य उत्सवका संयोजक ऋषि बरालले अध्यक्षता गर्नुभयो । कार्यक्रममा वरिष्ठ गीतकार अनेसास नेपालकी उपाध्यक्ष उन्नति बोहरा शिलाले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभयो भने वाचनका क्रममा वहाँले बुद्धको शान्ति सन्देश फैलाउने कविता समेत वाचन गर्नुभयो । त्यसपछि आफ्नै शब्द, शम्भुजित बाँस्कोटाको सङ्गीत र कर्णदासको स्वर रहेको शान्ति तिमी फर्की आऊ भन्ने देशभक्तिले ओतप्रोत भएको गीत आफ्नो श्रुतिमधुर स्वरमा गाएर समेत सुनाउनु भएको थियो । कार्यक्रममा अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले काव्य उत्सवको सफल एकबर्ष सम्पन्न गरेकोमा यसका संयोजक ऋषि बराल एवम् काव्य उत्सव परिवारलाई धन्यवाद दिनुभयो भने आसन्न अनेसास केन्द्रको कार्यसमितिको अध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो उम्मेदवारी रहेको र एक पटक आफूलाई जिताई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उन्नयन र विकासमा महत्त्वपूर्ण कामगर्न मौका दिनको लागि उपस्थित सबैमा अनुरोध समेत गर्नु भयो भने हालै वहाको अमेरिका यात्राको क्रममा लेख्नुभएको कविता वाचन गरेर समेत सुनाउनु भएको थियो । काव्य उत्सवको तेह्रौ श्रृङ्खलामा धेरै कवि एवम् कवयत्रि तथा स्रष्टाहरूले आफ्ना गीत, कविता, गजल, हाइकु, मुक्तक जस्ता काव्यिक रस्वस्वादन गराएर उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

आफ्ना सिर्जना वाचन गर्ने स्रष्टाहरूमा वरिष्ठ गीतकार एवम् हाइजिन किरण पौडेल, हाइजिन हिमाल भट्टराई (जापान अनेसास सदस्य), रञ्जना निरौला (सदस्य काव्य उत्सव), पारिजात भण्डारी(सदस्य काव्य उत्सव), पुष्प खनाल (सह सम्योजक काव्य उत्सव), प्रकाश सुवेदी(वरिष्ठ गीतकार), कल्पना प्रसाई पाठक (कवयत्रि), मेनका लामा (सर्जक), किरण प्रधान(वरिष्ठ गायक), उन्नति बोहरा शिला (वरिष्ठ गायिका एवम् कवयत्रि), कमला बलि (अनेसास नेपालकी कानुनी सल्लाहकार एवम् कवयत्रि), बाबा बस्नेत(कवयत्रि), सन्ध्या पहाडी(कवयत्रि), अर्जुन थापा (सर्जक), गीता मैनाली (कवयत्रि), राधेश्याम लेकाली(कवि), अनेसास केन्द्रका कोषाध्यक्ष शान्तिराम ढकाल, मुक्तककार एवम् हाइजिन ऋषि बराल हुनुहुन्थ्यो भने काव्य उत्सवलाई माया गर्ने साहित्यानुरागि मित्रहरूमा सरस्वती थापा, स्थापित व्यवसायी लक्ष्मण न्यौपाने, वरिष्ठ फिल्म निर्देशक राजन के.सी. एवम् विशाल पहाडी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप ढोडारीको समेत समुपस्थितिले नेपाली साहित्यको यो काव्य श्रृङ्खलाले शुशोभित हुने मौका पाएको थियो । कार्यक्रममा अनेसास केन्द्रका कोषाध्यक्ष्यले काव्य उत्सव र यसका सदस्यहरूको साहित्यप्रतिको लगाव र खटाइको खुलेर प्रशंसा गर्नुभयो भने आसन्न अनेसास केन्द्र्रको कार्यसमितिको निर्वाचनमा आफूँपनि कुनै न कुनै रूपमा प्रत्यासी रहने कुराको जानकारी दिनुभएको थियो भने अध्यक्षका प्रत्यासी द्वय राधेश्याम लेकाली र गोवर्द्धन पूजालाई अग्रिम बधाईका शुभेच्छा समेत दिनुभएको थियो । आफ्नो छोटो नेपाल बसाइको क्रममा गृहजिल्ला झापाबाट राजधानी फर्कने क्रममा मोबाइल फोन हराएको र आफ्ना नेपाल बसाइका क्रममा रचेका रचनाहरू मोबाइलसँगै हराएकोले गर्दा वाचन गर्ने खुराक नभएको भन्दै यौटा काठमाण्डौलाई व्यङ्ग्य गर्ने मुक्तक सुनाउनु भएको थियो ।

अन्तमा सभाध्यक्ष ऋषि बरालले कार्यक्रमको भूमिका र महत्त्वमाथि प्रकाशपार्दै आगामी दिनमा यसरी नै नेपाली वाङ्मयले माया गर्ने साहित्यिक स्रष्टा र अनुरागी मनहरू पाउँदै जाओस् भन्दै सबैप्रति अनुगृहीत हुँदै आफ्ना हाइकु रचना वाचन गर्दै कार्यक्रमको बिट मार्नुभएको थियो । सर्जक मेनका लामाले ल्याउनुभएको स्वादिष्ट आरुबखराको स्वादसँगै कार्यक्रको सुरुवात भएको थियो भने हाइजिन एवम् वरिष्ठ गीतकार किरण पौडेलको सशस्त्र प्रहरी बलमा श.प्र.निरीक्षक पदबाट श.प्र.नायव उपरीक्षक पदमा बढुवा भएको उपलक्ष्यमा ऋषि बरालले वहाँको आगामी कार्यकाल सफल र विशुद्ध नेपाल र नेपालीको सेवामा लाग्न अघि बढुन् भन्दै शुभकामनाका साथै खादा ओढाएर सम्मान समेत गर्नुभएको थियो भने किरण पौडेलले ल्याउनुभएको लड्डुको मिठाससँगै कार्यक्रमको तेह्रौ श्रृङ्खला समापन भएको थियो ।

अन्त्यमा, काव्य उत्सवको तेह्रौ श्रृङ्खलासम्म आइपुग्दा उरुतोरा जापनिज रेस्टुरेन्टको वातानुकूलित हल उपलब्ध गराउन पाएकोमा काव्य उत्सवका सम्योजक ऋषि बराल आफूस्वयम् र यसका अन्य शेयर सदस्यहरू जापानवासी लोकनाथ बस्ती, मिजुकुजी केन्जी र वरिष्ठ साहित्यकार एवम् हाइजिन र अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश पौडेल माइलाप्रति आभार प्रकट गर्दै उरुतोरा जापनिज रेस्टुरेन्टको आगनीमा जापानी परिकारसँगै फोटोसेसन गरी कार्यक्रम सकिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू