अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

विपत् जोखिम न्यूनीकरण परियोजनाको लागि रेडक्रस र सामसुङको सहकार्य

दिव्यराज पौडेल, धरान २०७५ जेठ १४ गते १२:३२ मा प्रकाशित

विपत् पूर्वतयारी र समुदाय उत्थानशिलता बढाउन नेपाल रेडक्रस सोसाइटी (नेरेसो), रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपत् जोखिम न्यूनिकरण (सिविडिआरआर) कोसी वेशिन परियोजना सुरु गरिएको छ ।

रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा आज सञ्चालित कार्यक्रममा उदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैयाँको लागतमा सो परियोजना सञ्चालन हुनेछ ।  यसको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्टा अफ कोरिया मार्फत कोरियन कम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र कोरियन प्रतिनिधिहरूले कोसी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात आज गर्नुभयो । रेडक्रसको सुनसरी शाखा धरानमा आयोजित सिविडिआरआरको सो औपचारिक उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि न्यौपाने, नेपाल स्थित रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका प्रमुख जुजा किम नेपाल स्थित कोरियन रेडक्रसकी प्रतिनिधि सुन हि किम  र सामसुङ नेपालका व्यवस्थापकिय निर्देशक यूविओम ओनका साथै नेपाल सरकार, लक्षित क्षेत्रका सम्बन्धित नगरपालिका र स्थानीय ईकाईहरुका प्रतिनिधिहरू र रेडक्रसका प्रतिनिधिहरू सामेल हुनुहुन्थ्यो ।

उक्त समारोहमा बोल्दै ने.रे.सो.अध्यक्ष थापाले समुदाय, स्थानीय सरकार र रेडक्रसलाई एकै ठाउँमा ल्याउँदै विपत् जोखिम न्यूनिकरणको क्षेत्रमा  सामूहिक पहल गर्न यो परियोजनाले अवसर जुटाएको  बताउनुभयो । परियोजनाले  उदयपुरको बेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिको वडा नं १४ र तिलाथी कोइलाडी गाउँपालिकाको  वडा नं ५ तथा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ । २ वर्षे समुदाय केन्द्रित परियोजनाबाट सो क्षेत्रका ७ हजार ५०० घरपरिवारका ३६ हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख Juja Kim ले भन्नुभयो “ यो परियोजनाले अन्तर्राष्ट्रिय महासङ्घको विपत् व्यवस्थापन गतिविधि, एक अर्बको साझेदारीको अवधारणा र दिगो विकासका लक्ष्यमा योगदान गर्नेछ ।”

विपत् जोखिम न्यूनिकरका लागि आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाइ, लैङगिक समावेशिकरण, जलवायु परिवर्तन र शान्ति प्रवर्धनजस्ता विषयहरू परियोजनाले समेटेको छ । यो परियोजनाले स्थानीय नगरपालिकाहरू, विद्यालय, स्थानीय विपत् व्यवस्थापन समितिहरूसँग सहकार्य गर्दै संङकटसन्न समुदायहरूको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानव सिर्जित प्रकोपहरूको उचित व्यवस्थापन गर्ने, विशेषता बाढीका जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउने लक्ष्य राखेको छ । परियोजना गतिविधिहरूको परिकल्पना लक्षित क्षेत्रका सङकटासन्नता क्षमता विश्लेषणको आधारमा गरिएको हो ।

SAMSUNG Electronics ले एक विश्वव्यापी निगम नागरिकको धरातलमा रहेर सर्व समृद्धिको दर्शनका आधारमा उज्वल तथा धेरै आशावादी समाजको सृजनामा सामाजिक योगदान हुने विभिन्न गतिविधिहरूमा आबद्ध रहिआएकोे जानकारी दिँदै SAMSUNG  का Yubeam won भन्नुभयो । ”रेडक्रससँगको लामो साझेदारी गरिआउने क्रममा नेपालको संङकटसन्न समुदायहरूमा आफ्ना सहयोगी हातहरू  फैलाउन पाउँदा चरम आनन्द महसुुुस भएको छ ।”

आजै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको तर्फबाट उपमहामन्त्री हरि प्रसाद न्यौपाने र सम्बन्धित जिल्लाहरूको तर्फबाट सुनसरीका रेडक्रस सभापति उमेश थापा, उदयपुर रेडक्रस सभापति विनोद बस्नेत र सप्तरीका रेडक्रस सभापति जोगेन्द्र भगतले परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरी फाइल आदान प्रदान गर्नुभयो ।

कोरियन रेडक्रसले नेपाल रेडक्रससँग काम गरेको एक दशक भन्दा बढी भएको कोरियन रेडक्रसकी Sunhee Kim ले जानकारी दिनुभयो । वहाँले SAMSUNG को साथमा नेपाल रेडक्रससँगको साझेदारीलाई वढाउदै वाढीग्रस्त क्षेत्रमा विपत् जोखिमलाई न्युनिकरण गर्न सहयोगी हुन पाउँदा खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख जयराम श्रेष्ठ, पत्रकार महासङ्घ सुनसरीका अमर खड्का, नेपाल रेडक्रसका उपमहामन्त्री हरि प्रसाद न्यौपाने, केन्द्रीय सदस्य मनोज थापा लगायतका व्यक्तित्वहरूले सम्बोधन गर्नुभएको थियो ।

सभापतिको आसन बाट सुनसरी शाखा रेडक्रसका सभापति उमेश थापाले विपद्ग्रस्त क्षेत्रमा विगतमा गरिएका कार्यक्रमहरूको अनुभवबाट सिक्दै उत्थानशिल समुदायहरूको निर्माण गर्न यो परियोजनाले मदत पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू